मदन भण्डारी राजमार्गकाे रोल्पा–सल्यानखण्ड स्तरोन्नतिको काम सुरु

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

मदन भण्डारी राजमार्गअन्तर्गत रोल्पा–सल्यानखण्डमा स्तरोन्नतिको काम सुरु गरिएको छ। रोल्पाको माडीचौरदेखि घर्तीगाउँ–सुकाओडार हुँदै सल्यानको पातिहाल्न–बागचौरसम्मको ५२ किलोमिटर सडक दुई लेन कटिङसहित कालोपत्रे गरिने भएको हो।

०८४ भदाै ९ गतेसम्म काम सक्ने गरी तीन वर्षको सम्झौता गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका सूचना अधिकारी इन्जिनियर रेशम ओलीले जानकारी दिए। चार अर्ब विनियोजित बजेटमा कुमार श्रेष्ठ निर्माण सेवा प्रालि काठमाडौंले तीन अर्ब २६ करोडमा ठेक्का लिएर काम सुरु गरेको हो। सडक सामान्यतया सात–सात मिटरको चौडाइ हुने र बजार क्षेत्र तथा घुम्तीहरूमा ठाउँअनुसार त्यसभन्दा बढी चौडाइ हुन सक्ने उनको भनाइ छ।

सडक कालोपत्रे हुने भएपछि वर्षातको समयमा हिलाम्मे तथा वैशाख, जेठमा धुलो, खाल्डाखुल्डीका कारण विभिन्न किसिमका सास्ती भोग्दै आएका उक्त क्षेत्रका स्थानीय खुसी भएका छन्। माडीचौरदेखि बागचौरसम्मको ५२ किलोमिटरमा करिब एक हजार पाँच सय मिटरजति ट्रयाक ओपन गर्न बाँकी रहेको र अन्यमा डबल कटिङको काम रहेको इन्जिनियर ओलीको भनाइ छ।

बजार तथा बस्ती क्षेत्रका जग्गाहरूको मुआब्जाका लागि आफूहरूले पहिले नै तथ्यांक संकलन गरिसकेको र त्यसको पनि प्रक्रिया अगाडि बढेको योजना कार्यालय सुर्खेतले जनाएको छ। एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइएको यो राजमार्गले पूर्वको झापालाई पश्चिमको डडेल्धुरासँग जोड्नेछ। सडक करिब एक हजार दुई सय किलोमिटर लामो हुनेछ। 

सुझावित समाचार