कुल वैदेशिक लगानी प्रतिबद्धताको ६०% पर्यटनमा

सोमबार, ३ मंसिर, २०८१
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो चार महिनामा १८ अर्ब ६६ करोड ५१ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभिन्न दुई सय ६३ परियोजनामा सोबराबरको वैदशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको छ । कात्तिक महिनाामा मात्रै ५९ परियोजनामा दुई अर्ब २२ करोड ३७ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।

चार महिनामा आएको लगानी प्रतिबद्धता गत आवको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १८ अर्ब ३५ करोड ४३ लाखबराबरको लगानी प्रतिबद्धता आएको थियो । गत आवभर भने ७० अर्ब दुई करोड सात लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । चालू आवमा विदेशी लगानी प्रतिबद्धता औसत देखिएको विभागको भनाइ छ । सोबराबरको विदेशी लगानी कार्यान्वयनमा आउँदा सात हजार ६ सय ६७ वटा रोजगारी सिर्जना हुने दाबी गरिएको छ ।

समीक्षा अवधिमा अटोमेटिक रुटबाट एक सय नौ परियोजनामा एक अर्ब ६२ करोड ७३ लाखबराबरको लगानी प्रतिबद्धता आएको छ । गत वैशाखमा सम्पन्न लगानी सम्मेलनको अवसरमा ५० करोड रुपैयाँसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट स्वीकृत गरिने प्रणाली ल्याइएको थियो । त्यसमार्फत चालू आवको समीक्षा अवधिमा सोबराबरको लगानी स्वीकृत भएको हो । त्यसमा कात्तिक महिनामा मात्रै ३६ परियोजनामा ६१ करोड ३७ लाख रुपैयाँ लगानी प्रतिबद्धता अटोमेटिक रुटबाट आएको छ ।

समीक्षा अवधिमा अटोमेटिक रुटबाट आइटी क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रस्ताव आएको छ । अटोमेटिक रुटबाट आइटी क्षेत्रका ८० परियोजनामा ४३ करोड २२ लाख ५६ हजार रुपैयाँ लगानी प्रस्ताव आएको छ । यसैगरी, उत्पादनका ६ परियोजनामा ३५ करोड ५० लाख रुपैयाँ, पर्यटनका १३ परियोजनामा ४२ करोड ९० हजार रुपैयाँ, सेवाका आठ परियोजनामा ३८ करोड रुपैयाँ, पूर्वाधारका दुई परियोजनामा चार करोड १० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।

कागजी प्रक्रियाबाट भने एक सय ५४ परियोजनामा १७ अर्ब तीन करोड ७७ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ । त्यसमा एक सय ५१ साना, एक मझौला र दुई ठुला परियोजना छन् । कागजी प्रक्रियाबाट कात्तिक महिनामा मात्रै २३ परियोजनामा एक अर्ब ६१ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

कागजी प्रक्रियाबाट आउने वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आकर्षित देखिएको छ । समीक्षा अवधिमा पर्यटन क्षेत्रका एक सय १३ परियोजनामा ११ अर्ब १८ करोड लगानी प्रतिबद्धता आएको छ । यो कुल प्रतिबद्धताको ६० प्रतिशत हो । नेपालमा पर्यटनको सम्भावना र सरकारले पर्यटकलाई प्राथमिकतामा राख्दा पनि यस क्षेत्रमा लगानी आकर्षण भएको विज्ञहरू बताउँछन् ।

दोस्रो नम्बरमा भने सेवा क्षेत्र रहेको छ । समीक्षा अवधिमा सेवा क्षेत्रका २० परियोजनामा तीन अर्ब ८५ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । उत्पादनका १३ परियोजनामा एक अर्ब २२ करोड ८४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ ।

यसैगरी, आइटीका सात परियोजनामा १७ करोड ४० लाख रुपैयाँ, कृषिका दुई परियोजनामा पाँच करोड ८० लाख रुपैयाँ, खनिजका दुई परियोजनामा चार करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ ।
यो उद्योग विभागमार्फत आउने विदेशी लगानी प्रतिबद्धता मात्रै हो । लगानी बोर्डको तथ्यांक यसमा समावेश छैन ।

एक अर्बभन्दा बढीको सेयर खरिद–बिक्री सम्झौता
समीक्षा अवधिमा एक अर्ब १३ करोड ६१ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री सम्झौता भएको छ । विभिन्न २५ परियोजनामा सोबराबरको सेयर खरिद–बिक्रीसम्बन्धी सम्झौता भएको हो । यसरी प्रविधि हस्तान्तरणसम्बन्धी १३ वटा सम्झौता भएको विभागको तथ्यांकमा उल्लेख छ ।

घट्यो विदेशी लगानीकर्ताले लैजाने लाभांश
समीक्षा अवधिमा विदेशी लगानीकर्ताले लैजान लाभांश घटेको छ । गत आवको पहिलो चार महिनामा विदेशी लगानीकर्ताले एक अर्ब ४१ करोड ६ लाख ८८ हजार रुपैयाँ लाभांश लगेका थिए । तर, चालू आवको चार महिनामा भने ६ करोड ४० लाख ४२ हजार रुपैयाँ मात्रै लाभांश लगेका छन् । आर्थिक शिथिलताका कारण अधिकांश क्षेत्रको आम्दानी प्रभावित भएको छ । त्यो अवस्थामा विदेशी लगानीका कम्पनी तथा परियोजना पनि प्रभावित भएको छ । त्यसले गर्दा लाभांशबापत बाहिरिने रकम घटेको जानकारवाला बताउँछन् ।

यस्तै, समीक्षा अवधिमा रोयल्टीमार्फत नेपाली रुपैयाँमा ३८ करोड ८६ लाख ६७ हजार, डलरमा आठ लाख १५ हजार, भारतीय रुपैयाँमा २० करोड पाँच लाख र युरोमा १० हजार दुई सय रहेको छ । यस्तै, सेवाशुल्कअन्तर्गत नेपाली रुपैयाँमा ३८ करोड आठ लाख ६८ हजार, डलरमा २८ लाख ६८ हजार र भारतीय रुपैयाँमा पाँच करोड ७६ लाख १५ हजार बाहिरिएको छ ।

सुझावित समाचार