भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी)बिच भरतपुरवासीको स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ । आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा एक कार्यक्रमबिच सम्झौतापत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र सिएमसीका निर्देशक प्रताप देवकोटाले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
भरतपुर महानगरवासीले सिएमसीमा उपचार गर्दा होलबडी चेकअपमा ५० प्रतिशत, औषधि खरिदमा ७ प्रतिशत र अन्य उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको सम्झौतापत्रमा उल्लेख छ । यो सम्झौता मंसिर २ अर्थात् आजबाट लागू भई एक वर्षसम्म लागू हुनेछ । यस्तै, नगर प्रमुखको सिफारिसमा सिएमसी क्यान्सर इन्स्टिच्युटमा सञ्चालित सिटिइभिटीको पढाइमा विद्यार्थीलाई १० प्रतिशत व्यवस्था गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रेनु दाहालले नगरवासीलाई विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सिएमसीसँग छुटसहितको सम्झौता गरिएको स्पष्ट पारे । प्रमुख दाहालले यसअघि अस्पतालमा हुने उपचारमा छुटका लागि धेरै सिफारिस आउने गरेको भन्दै अब यो सम्झौतासँगै सीधै छुट उपलब्ध भएसँगै बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गरे । छुट सेवा लिनका लागि महानगरले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।