नेपालका अजयदास श्रेष्ठलाई युनिभर्सिटी अफ ब्रिजपोर्ट (युबी) ले डिस्टिङ्ग्विस्ट एलुम्नी अवार्ड–२०२४ प्रदान गरेको छ।
श्रेष्ठले काठमाडौंको बुढानीलकण्ठ स्कुलबाट एसएलसीसम्मको अध्ययन गरेपछि सेन्ट जेभियर्स क्याम्पसबाट आई एस्सी गरेका थिए। सन् १९९८ मा उनले युनिभर्सिटी अफ ब्रिजपोर्टमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरे। उनले सन् २००२ मा स्नातक गरे।
त्यसपछि उनले सन् २००६ मा युबीबाटै कम्प्युटर साइन्समा स्नातकोत्तर डिग्री प्राप्त गरे र सन् २०१९ मा कृत्रिम बुद्धिमत्ता (एआई) मा विशेषज्ञतासहित कम्प्युटर साइन्स र इन्जिनियरिङमा पिएचडी गरे।
श्रेष्ठले एआईसम्बन्धी सम्मेलनहरू र प्राविधिक जर्नलहरूमा आफ्नो अनुसन्धान प्रकाशित गर्दै शैक्षिक क्षेत्रमा योगदान दिएका छन्।
इन्जिनियरिङ र व्यवस्थापन क्षेत्रमा करिब दुई दशक लामो अनुभवसहित, श्रेष्ठ हाल न्युयोर्क सिटीमा आधारित एक हेल्थकेयर एआई स्टार्टअपमा कार्यरत छन्। यसअघि, उनले एक ग्लोबल बायोटेक कम्पनीमा व्यवस्थापकीय भूमिका निर्वाह गर्दै इन्जिनियरिङ टिमको नेतृत्व गरेका थिए।
आफ्नो व्यावसायिक भूमिकाका अतिरिक्त, श्रेष्ठ सन् २०१६ देखि युबीको कम्प्युटर साइन्स विभागमा प्राध्यापकका रूपमा संलग्न छन् र युनिभर्सिटी अफ ब्रिजपोर्ट एलुम्नी एसोसिएसन (युबिएए) को बोर्ड अफ डाइरेक्टर्समा सेवा दिइरहेका छन्। श्रेष्ठको क्षेत्रीय योगदान र विश्वविद्यालय, समुदायप्रतिको सेवाको कदर गर्दै उनलाई सम्मान गरिएको हो।