सिराहाको कमला नदीमा तीन दिनअघि नुहाउने क्रममा बगेर बेपत्ता भएका बालकको आइतबार बिहान शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगरपालिका– १५ बुधौरा गाउँका करिब १४ वर्षका अभिषेक यादवको शव हुलाकी सडकको कमला पुलदेखि करिब पाँच सय मिटर दक्षिणपट्टि पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो।
बालकको शव बिहान करिब साढे ८ बजेतिर फेला परेपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले मुचुल्का उठाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहा ल्याइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
कार्तिक शुक्ल पूर्णिमाको दिन नुहाउन गएका यादव बगेर बेपत्ता भएका थिए। सोही दिन कर्जन्हा– १ उत्तरबाहिनीमा बेपत्ता भएका मिर्चैया– ५ का १६ वर्षका लक्ष्मण साहको खोजी भइरहेको प्रहरीले जनाएको छ।