विद्यालय समयमा गैरजिम्मेवार बनेको भन्दै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडा नं. ४ बतासेस्थित सहकला आधारभूत विद्यालयका प्रधानाध्यापकलाई कारबाही गरेको छ। घरमै बसेर विद्यालयमा पढाइरहेको भन्दै गाउँपालिकाको अनुगमन टोलीलाई ढाँट्ने प्रधानाध्यापक रिता राउतलाई गाउँपालिकाले कारबाही गरेको हो।
गाउँपालिकाका विद्यालय निरीक्षक रणशेर तामाङ अनुगमन गर्न सहकला आ.वि. पुग्दा उक्त विद्यालय बन्द रहेको थियो। तर, निवर्तमान प्रधानाध्यापक राउतले फोनमा विद्यालय लागिरहेको र आफू पनि कक्षामा उपस्थित भएर पढाइरहेको भन्दै निरीक्षकलाई ढाँटेपछि गाउँपालिकाले पदबाट हटाएको हो।
तिहार र छठ बिदापश्चात् गत कात्तिक २६ गतेबाट विद्यालय सञ्चालन हुनुपर्नेमा कात्तिक २७ गते गाउँपालिकाका विद्यालय निरीक्षक तामाङ अनुगमनमा पुग्दा सहकला आ.वि. बन्द रहेको भेटिएको जनाइएको छ। दिउँसो करिब २ बजे विद्यालयमा पुग्दा विद्यालय बन्द रहेको भेटिएपछि गाउँपालिकालाई लिखित रूपमा जानकारी गराइएको निरीक्षक तामाङले बताए।
विद्यालयकै प्रांगणबाट प्रधानाध्यापक राउतलाई फोन गर्दा विद्यालय लागिरहेको र आफू पनि विद्यालयमै पढाइरहेको भन्दै राउतले ढाँटेको निरीक्षक तामाङले बताए। ‘विद्यालयका एकजना शिक्षक खेमराज कँडेल भने विद्यालयको प्रांगणमा बसिरहनुभएको थियो। विद्यालयको चाबी लिएर प्रधानाध्यापक राउत र कार्यालय सहयोगी गंगा श्रेष्ठ नआएपछि विद्यालय बन्द रहेको शिक्षक कँडेलको बताउनुभयो,’ उनले भने, ‘सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारमा गाउँपालिका लागिपरेको छ। तर, प्रधानाध्यापकले नै गैरजिम्मेवार भएर लापरबाही गरेपछि कारबाहीस्वरूप प्रधानाध्यापकबाट हटाउन सिफारिस गरेका हौँ।’
अनुगमनमा गएका विद्यालय निरीक्षक तामाङलाई निवर्तमान प्रधानाध्यापक राउतले उल्टै ढाँटेपछि वरिपरिका अभिभावक बोलाएर विद्यालयको अवस्थाको प्रतिवेदन तयार पारेर गाउँपालिकामा बुझाएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। ‘अनुगमनमा पठाइएको व्यक्ति विद्यालय पुग्दा बन्द रहेको भेटियो। प्रधानाध्यापकलाई फोन गरेका रहेछन्। उहाँले विद्यालय लागिरहेको र आफू पनि विद्यालयमै पढाइरहेकी छु भनेर ढाँट्नुभएछ,’ उनले भने, ‘निरीक्षकले बुझाएको प्रतिवेदनका आधारमा कात्तिक ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकले राउतलाई प्रधानाध्यापक पदबाट हटाएका छौँ। राहत कोटामा कार्यरत राउतलाई प्रधानाध्यापकबाट हटाएर स्थायी शिक्षक खेमराज कँडेललाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ।’
गाउँपालिकाले सोधेको स्पष्टीकरणमा पनि चित्तबुझ्दो जवाफ नआएपछि निवर्तमान प्रधानाध्यापक राउतलाई पदबाट हटाइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको कारबाहीमा परेकी निवर्तमान प्रधानाध्यापक राउतले आफ्नो कमजोरी भएको स्वीकार गरेकी छिन्।
कक्षा पाँचसम्म पठनपाठन हुँदै आएको बतासेस्थित सहकला आ.वि.मा अहिले विद्यार्थी संख्या कम भएपछि कक्षा तीनसम्म मात्र पठनपाठन भइरहेको छ। विद्यालयमा हाल रिता राउत, खेमराज कँडेल र कार्यालय सहयोगी गंगा श्रेष्ठ कार्यरत छन्।