महिला उद्यमीका सामान बिक्री गर्न धनगढीमा प्रत्येक शनिबार उद्यम बजार

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

उद्यमका माध्यमबाट महिलालाई आयआर्जनसँग जोड्नका लागि धनगढीमा प्रत्येक शनिबार महिला उद्यम बजार सञ्चालन हुने भएको छ। धनगढी पार्कमोडमा सञ्चालन हुने बजारमा महिलाले आफूहरूले उत्पादन गरेका सामानहरू बिक्रीका लागि स्टल राख्ने व्यवस्था गरिएको छ।

शनिबारीय बजारको पहिलो दिन शनिबार दुना, टपरी, सेनेटरी प्याड, झोला, ढकिया, बेतबाँसका सामान, च्याउ, अचार, खानाका स्थानीय परिकारलगायतका ६० वटा स्टल राखिएका छन्। प्रत्येक शनिबार दिउँसोदेखि बेलुकासम्म शनिबारीय महिला उद्यम बजार सञ्चालन हुने उपमहानगरका रोजगार संयोजक चन्द्र महराले जानकारी दिए।

घरमा सामान उत्पादन गरे पनि बिक्रीको समस्या भोग्दै आएका महिलाले उद्यम बजारबाट लाभ लिन सक्ने उनले बताए। पहिलो दिन ६० वटा स्टल राखिएकोमा महिलाहरूको माग आए स्टल संख्या थप्न सकिने उपमहानगरले जनाएको छ।

विभिन्न सामान उत्पादनको सीप भएका, तर आर्थिक अभावका कारण व्यवसाय सञ्चालन गर्न नसकेका महिलालाई लक्षित गरेर मेलाको सुरुवात गरिएको धनगढीकी उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्। शनिबारीय महिला उद्यम बजारले महिलाहरूलाई आयआर्जनसँग जोड्ने उनको भनाइ छ। मेलामा स्टल राखेका महिलाहरूले आफूले उत्पादन गरेका सामान बिक्री गर्न सहज हुने विश्वास गरेका छन्।

घाँसबाट ढकिया, पन्टोक्नी, ढकलीलगायत घरायसी प्रयोगका सामान निर्माण गर्दै आएकी धनगढी– ५, जाइकी अनुकुमारी चौधरीलाई सामान बिक्रीका लागि बजारीकरणको समस्या थियो। उनले आफैँ लगानी गरेर पसल राख्न सकेकी छैनन्। ‘पसल राख्नका लागि पैसा छैन, चिनजानका आधारमा घरबाटै सकेजति सामान बिक्री गर्छु,’ चौधरीले भनिन्, ‘अब उद्यम बजार स्टल राख्न पाएपछि सामान बिक्री बढ्ने आशा गरेकी छु।’ सामानको बिक्री बढेपछि आयआर्जनबाट जीवन निर्वाह गर्न पनि सहज हुने उनको आशा छ।

धनगढी हसनपुरकी दीप्ति भण्डारी मेलामा स्टल राख्न पाएपछि उत्साहित छिन्। तालिम लिएर घरमा केराका सामान र दुनाटपरी उत्पादन गरे पनि उनलाई उत्पादित सामान बिक्रीलाई समस्या थियो। उनले मेलामा स्टल राखेपछि व्यावसायिक चिनजानसँगै कारोबार बढ्ने आस गरेको बताइन्। 
    
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले शनिबारीय बजारको सुरुवात गरिएको बताए। ‘महिलाहरूलाई घरबाट बाहिर ल्याएर आत्मबल बढाउने र व्यवसायमा संलग्न गराउन खोजेका हौँ,’ हमालले भने, ‘उद्यमी बन्न चाहनेका लागि यो राम्रो अवसर हो।’

बेरोजगार युवायुवतीलाई लक्षित गरेर धनगढी उपमहानगरले रात्रिकालीन बजार सञ्चालन गर्ने तयारी गरेको जानकारी पनि उनले दिए। विभिन्न संघसंस्थाहरूले तालिम दिए पनि तालिम लिएका सबैले लगानीको अभावमा व्यवसाय सञ्चालन गर्न नसक्ने भएकाले शनिबारीय बजार सुरु गरिएको बताए।
 

सुझावित समाचार