बाढीपहिरोको प्रभाव बजेटमा : तीन करोडले घट्यो रोशी गाउँपालिकाको बजेट

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

गत असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण रोशी गाउँपालिकाको प्रभाव बजेटमा परेको छ । १० असारमा १५औँ अधिवेशनमा स्वीकृत बजेटबाट करिब साढे तीन करोड रुपैयाँ घटेको छ । बाढीपहिरोले आम्दानी क्षेत्रमा प्रभाव पारेपछि बजेट घटेको गाउँपालिकाले जनाएको छ । 

शुक्रबार सम्पन्न गाउँपालिकाको विशेष अधिवेशनले संशोधित विनियोजन विधेयक पारित गरेको छ । १५औँ अधिवेशनमा ६९ करोड २० लाख ९८ हजार बजेट पारित गरेको थियो । तर, शुक्रबार भएको विशेष अधिवेशनले ६५ करोड ७७ लाख ९८ हजार अर्थात् तीन करोड ४३ लाख बजेट घटाएर पारित भएको हो । 

विशेष अधिवेशनमा गाउँपालिका अध्यक्ष तथा गाउँ सभा अध्यक्ष दिनेश लामाले गाउँ सभाको विशेष अधिवेशन आह्वान गरेपछि गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले विनियोजन ऐनमाथिको संशोधन पेस गरेका थिए । उपाध्यक्ष वाइबाको प्रस्तावमाथि छलफलपश्चात् निर्णयार्थ अध्यक्ष लामाले सभामा प्रस्तुत गरेका थिए । सबै सभा सदस्यहरूले प्रस्ताव पारित गरेका थिए । 

विपत् व्यवस्थापन कोषमा ५० लाख
रोशी गाउँपालिका विपत् व्यवस्थापन कोषमा विशेष अधिवेशनले ५० लाख बजेट थप गरेको छ । हाल सो कोषमा दुई करोड ८० लाख रकम भएको छ । उक्त कोषमा गत आर्थिक वर्षको एक लाख ३५ हजार बाँकी रहेको थियो । १५औँ अधिवेशनमा ५० लाख बजेट विनियोजन गरिएको थियो । विपत्पश्चात् संघीय सरकार, प्रदेश सरकार, अन्य स्थानीय सरकार, संघ–संस्था र व्यक्तिबाट एक करोड ४८ लाख ७५ हजार जम्मा भएको थियो भने जनप्रतिनिधि र कर्मचारीको सेवासुविधा कटौती गरी ३० लाख आठ हजार गरी विपत् व्यवस्थापन कोषमा दुई करोड ८० लाख बजेट व्यवस्थापन भएको छ । 

अधिवेशनमा पारित भएका योजनामा सामान्य योजना कटौती गरेर बाढीपहिरोपिडितको व्यवस्थापनमा जोड दिएर बजेट संशोधन गरेको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले जानकारी दिए । बाढीपीडितहरूको राहत वितरणका लागि ५० लाख, विपत्मा क्षति पुगेका संरचना मर्मतका लागि ५० लाख, विपत् पूर्वतयारी सामग्री खरिदका लागि १० लाख, बाढीपीडितको आर्थिक सहयोगका लागि ५५ लाख र पूर्वाधार मर्मत तथा निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको वाइबाले जानकारी दिए । 

तीन अर्ब ५० करोडको क्षति 
गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढीपहिरोका कारण रोशी गाउँपालिकामा करिब तीन अर्ब ५० करोड आर्थिक क्षति भएको जानकारी दिए । ‘असोजको अविरल वर्षाका कारण आएको बाढीपहिरोले रोशीमा निकै नै क्षति पुर्याएको छ । १० शय्याको अस्पताल भवन, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम, डम्फु जीवन्त संग्रहालयलगायत सरकारी तथा गैरसरकारी भौतिक संरचना र जग्गाजमिन बढीपहिरोले क्षति पुर्याएको छ,’ गाउँपालिका अध्यक्षले भने, ‘सबै संरचनाहरू र अन्य क्षति गरेर आर्थिक रूपमा रोशीमा तीन अर्ब ५० करोडको क्षति पुगेको छ ।’ रोशीमा १२ जना नागरिकको ज्यानै लिने गरी बाढीपहिरो आएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले पाँच सय चार घरधुरी पूर्ण, नौ सय ११ घरधुरी आंशिक क्षति भएको तथ्यांक रहेको जानकारी दिए ।

सुझावित समाचार