एपिजे अब्दुल कलाम एक सफल वैज्ञानिक हुन् । उनी भारतमा मात्र नभई संसारभर ‘मिसाइल म्यान’का नामले समेत परिचित छन् । उनै अब्दुल कलाम एकपटक भारतका राष्ट्रपति बनेका थिए । कलाम जति सफल थिए, त्यति नै विनम्र थिए । उनी जतिसुकै उच्च ओहोदामा पुग्न सफल भए पनि अत्यन्त साधारण जीवन बिताउँथे ।
राष्ट्रपति भएपछि पनि उनी जहाँ–जहाँ पुग्थे, त्यहाँ–त्यहाँ उनको सादा जीवनको उदाहरण देख्न पाइन्थ्यो । एकपटक राष्ट्रपति कलाम प्रमुख अतिथिका रूपमा एउटा कार्यक्रममा उपस्थित भएका थिए । त्यहाँ उनले विशेष प्रवचन दिनु थियो । उनी निर्धारित समयमै हलमा उपस्थित भए । आयोजकले उनलाई मञ्चमा पु¥याए । मञ्चमा थुप्रै कुर्सी मिलाएर राखिएका थिए । तीमध्ये कलामलाई अरूभन्दा भिन्न विशेष प्रकारको अलिक ठुलो कुर्सी राखिएको थियो । कलामले भिन्न प्रकारको कुर्सी देखेर आयोजकलाई त्यो कसका लागि राखिएको हो भनेर प्रश्न गरे ।
आयोजकले त्यो कुर्सी उनकै लागि हो भन्दै त्यसमा बस्न अनुरोध गरेपछि राष्ट्रपति कलामले त्यसप्रति असन्तुष्टि जनाउँदै तत्काल त्यो कुर्सी हटाउन लगाए र नजिकै रहेका सामान्य कुर्सी तानेर त्यसमै बसे । कार्यक्रममा उपस्थित सबैले कलामको सादापन देखेर तालीको गडगडाहटले उनको सादापनको सम्मान गरे ।