प्रेरक प्रसंग : किसानको इमानदारी

शुक्रबार, ३० कार्तिक, २०८१
डिजिटल संस्करण

एक राजालाई राज्यकोषको हेरचाहका लागि एक इमानदार कोषाध्यक्ष चाहिएको थियो । तर, उनले खोजेजस्तो व्यक्ति भेटिन सकेको थिएन । उनले थुप्रैको परीक्षा लिइसकेका थिए । तर, त्यस्तो कोही भेटिएको थिएन । सहरदेखि केही परको गाउँमा एक गरिब किसानको परिवार बस्थ्यो । परिवारमा किसान, उनकी पत्नी र दुई छोरा थिए । आफूसित भएको थोरै जमिनको उब्जनीले जसोतसो उनीहरूको रोजीरोटी चल्दै आएको थियो ।

एक दिन किसान बिहानै उठेर खेततिर जान भनेर घरबाट निस्किए । उनले आफ्नो घरको पिँढीमा कपडाले मुख छोपिएको एउटा घडा देखे । के रहेछ भन्ने उत्सुकतावश उनले कपडा हटाएर हेरे । घडा बहुमूल्य हिरा, मोती र सुनका गहनाले भरिएको थियो । उनी घडा उठाएर भित्र पसे र पत्नी तथा छोरालाई पनि देखाए । त्यो देख्दा छोराहरू खुसी भए । उनीहरूले भने– आहा ! अब भने हाम्रो गरिबी हट्ने भयो । यति धेरै धनले अब हामी सुखी भएर बाँच्न सक्ने भयौँ ।

तर, किसानले भने– हेर बाबु हो ! यो हाम्रो मिहिनेतको कमाइ होइन । त्यसैले, यसमा हाम्रो कुनै हक लाग्दैन । यसलाई म अहिल्यै लगेर राज्यकोषमा दाखिला गराएर आउँछु । किसानकी पत्नीले पनि उनलाई समर्थन गरिन् र दुवैजना घडा बोकेर दरबारमा पुगे । किसानले राजालाई सबै कुरा बताए । राजा उनीहरूको इमानदारी देख्दा खुसी भए । उनले केही स्वर्णमुद्रा किसानकी पत्नीलाई उपहार दिन खोजे ।

तर, उनले आफूले परिश्रमविनाको कुनै उपहार स्वीकार गर्न नसक्ने बताइन् । किसानले पनि उनको भनाइमा समर्थन गरे । किसानको इमानदारी देखेर राजाले उनैलाई राज्यकोषका कोषाध्यक्ष नियुक्त गरे । किसानको इमानदारीले उनलाई देशकै एउटा प्रतिष्ठित उच्च पद दिलायो । वास्तवमा त्यो घडा किसानको परीक्षा गर्न राजाले नै राख्न लगाएका थिए ।

सुझावित समाचार