संस्कृति शिरोमणि तथा संस्कृतिविद् हरिराम जोशी र वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई ललितपुर महानगरपालिकाले सवारीसाधन, स्वास्थ्य उपचार, सेक्युरिटी, मोबाइल फोनलगायत सुविधा दिएको छ।
बुढ्यौली अवस्थामा उनीहरूको दिनचर्या सहज पार्न महानगरले बिहीबार पुल्चोकमा एक कार्यक्रम गर्दै गाडीसहितको सुविधा हस्तान्तरण गरेको हो। महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दुई व्यक्तिलाई सम्मानसहित सुविधा हस्तान्तरण गरेका हुन्।
नेपालको भाषा, साहित्य, संस्कृति, सम्पदा, इतिहासलगायत क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाएकाले दुई व्यक्तिको वृद्ध उमेरको दैनिक जीवन सहज पार्न सम्मानसहित सुविधा प्रदान गरिएको मेयर महर्जनले जानकारी दिए। उनका अनुसार दुई व्यक्तिको निम्ति एउटा गाडी सुविधा दिइएको हो। उक्त गाडीमा सुरक्षा गार्ड पनि हुनेछन्।
त्यस्तै, यी दुई व्यक्तिको अबको सबैखाले उपचार खर्च पनि महानगरले नै व्यहोर्ने मेयर महर्जनले जानकारी दिए। हाल जोशी ८९ वर्ष र कायस्थ ८३ वर्षका भए। लेखन क्षेत्रमा दुवैजना सक्रिय रहँदै आएका छन्। महानगरले दिएको सवारीसाधन र अन्य सुविधाले आफूलाई प्रोत्साहन मिलेको संस्कृतिविद् हरिराम जोशीले बताए। उनले महानगरपालिका सम्पदा र संस्कृतिको खानी भएकाले यसलाई सदा संरक्षण र जीवन्त राख्न महानगरपालिकाले प्रमुख भूमिका खेलेको बताए।
त्यस्तै, साहित्यकार छत्रबहादुर कायस्थले पनि आफूलाई महानगरले दिएको सुविधाले बाँकी जीवन थप सहज हुने भन्दै खुसी व्यक्त गरे।
यसअघि स्व. सत्यमोहन जोशी दम्पतीलाई पनि महानगरपालिकाले गाडी, नर्स, सुरक्षा गार्ड र उपचारसहित सुविधा दिएको थियो। शताब्दी वाङ्मय पुरुष जोशीको दुई वर्षअघि निधन भएको थियो। महानगर क्षेत्रका हरिराम जोशी र कायस्थलाई पनि कदर गर्दै महानगरले सुविधा दिएको हो।
सवारीसाधन नहुँदा बाहिरी कार्यक्रम तथा भेटघाटमा सहभागी हुन नसकेको भन्दै महानगरले दुई व्यक्ति गाडी सुविधा दिएको हो। चालकसहितको उक्त गाडीको सबै खर्च महानगरले नै व्यहोर्नेछ। महानगरपालिकाले गाडी सुविधा प्रदान गरेपछि दुवैजना बिहीबार सोही गाडीमै घर फर्किएका थिए।