कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त सम्पन्न

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले भने– प्रतिष्ठानमा जनशक्ति र उपकरणको कमी हुनेछैन

प्रधानमन्त्री केपी ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा सरकार गम्भीर रहेको बताएका छन् । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा बुधबार उनले भने, ‘विशेषज्ञ डाक्टर उत्पादन र स्वास्थ्य सेवा प्रवाहको परिकल्पना नगरेका कर्णालीवासीले घरघरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरेका छन् । दुर्गम कर्णालीसहित पश्चिम नेपालको भरोसा केन्द्र बनेको प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकारले जनशक्ति र उपकरण कुनै कमी हुन दिनेछैन ।’

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कुनै वेला डाक्टर नपाइने ठाउँमा अहिले दक्ष जनशक्ति दीक्षित भएको बताए । ‘अब कर्णालीको स्वास्थ्य सेवाले थप गति लिने विश्वास छ । अब कर्णाली बन्दै छ । यहाँका सम्भावनाले कर्णाली दुर्गम रहेन । अब चुनौती घटेका छन्,’ उनले भने । कृषि, पर्यटन, भाषा, साहित्यसँगै कर्णाली अब स्वास्थ्य सेवा प्रवाहका हिसाबले पनि आत्मनिर्भर बनेको उनले बताए । दीक्षित भएका विद्यार्थीलाई अझै इमानदारी साथ राष्ट्रप्रति कर्तव्यनिष्ट भएर सेवा गर्न उनले आग्रह गरे ।

कर्णालीका १० सहित सुदूरपश्चिमका तीन गरी १३ जिल्लामा सेवा प्रवाह गरिरहेको कर्णाली प्रतिष्ठानको वृद्धि विकासमा वर्तमान सरकारले चासो दिएको ओलीले बताए । ‘आज सिनेट बैठकमा प्रतिष्ठानका विभिन्न विषयमा गहन छलफल भएको छ । लामो समयदेखि काम गरेका शिक्षक कर्मचारीको स्तरवृद्धिको विषयलाई समेत गम्भीर रूपमा लिएका छौँ । करोडौँका संरचना बन्नु, विशेषज्ञ डाक्टर उत्पादन हुनुले कर्णाली स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुनु हो,’ उनले भने । दैलेखको राकम कर्णालीमा बन्ने सय शड्ढयाको अस्पताल र ट्रमा सेन्टर निर्माणमा समेत सरकार लागिपरेको बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रथम दीक्षान्त समारोह गर्न पाउँदा गौरव महसुस भएको बताए । ‘कोरोनाकालमा देशकै उत्कृष्ट सेवा प्रवाह गरेको प्रतिष्ठानले कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ,’ उनले भने । प्रतिष्ठानमा हाल एमडी, एमबिबिएस, बिएनएसलगायत स्नातक र स्नातकोत्तर तहका विभिन्न १४ वटा कार्यक्रम सञ्चालित छन् । दीक्षान्त समारोहमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित भएका छन् । बिपिएचका ३८ जना, बिएमएस १५ जना र एमडिएमएस पाँचजना गरी ५८ विद्यार्थी दीक्षित भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल धामीले बताए । दीक्षित हुने ५८ जनामा ३० जना विद्यार्थी दीक्षान्त समारोहमा उपस्थित भएका थिए । 
 

सुझावित समाचार