आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन

बुधबार, २८ कार्तिक, २०८१
डिजिटल संस्करण
आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी बदलिन चाहन्छौँ, अवसर दिनुहोस् भनेर जनताको बिचमा जानुहोस्। टोलटोल र घरघरमा पुग्नुहोस्।’

सरकारमा भएको वेला माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको उल्लेख गर्दै उनले पार्टीले चाहेका, तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बिचमा जान आग्रह गरे।

‘माओवादी नेतृत्वको सरकारले के गर्दै थियो र पछिल्लो समय नयाँ सरकार किन बन्यो भन्ने पनि जनताले स्पष्टसँग बुझिसकेका छन्। त्यसैले जनता पुनः माओवादीलाई विश्वास गर्न तयार हुँदै गएका छन्,’ प्रचण्डले भने, ‘अब मुख्य कुरा हामी आफैँ पुनः जनताको सेवामा लाग्ने प्रतिबद्धतासहित रुपान्तरण हुन आवश्यक छ।’

कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र विद्रोहको केन्द्र भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘यहाँको इतिहास, वीरता र विद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक छ। सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कीर्तिमान कायम गर्नेछ।’

सुझावित समाचार