मतियार र बिचौलियासँग सम्झौता गर्दिनँ : मन्त्री पाण्डे

‘करोड होइन, कौडी खाएको पुष्टि गरे राजनीतिक जीवन त्याग्छु’

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण
मतियार र बिचौलियासँग सम्झौता गर्दिनँ : मन्त्री पाण्डे

फाइल तस्बिर

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने बताएका छन्। मंगलबार नेपाल विद्याश्रम संस्कृति माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले इमानदार भएर काम गर्न खोज्नेहरूलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजिएको बताए।

‘पहिले राजनीति गर्ने व्यक्तिहरू बलियो हुनुहुन्थ्यो। अहिले स्वार्थ समूह शक्तिशाली भएको देखिरहेको छु,’ उनले भने, ‘मैले तीन–चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारले मलाई मानमर्दन गर्ने, मेरो मनोबल, आत्मबललाई गिराउने गरी काम गरिरहेका छन्।’

मन्त्री पाण्डेले थप भने, ‘म यो पशुपतिनाथको मन्दिरअगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा केही अनलाइनलाई प्रयोग गरेर, केही बिचौलियाका मतियारहरूले आरोप लगाएका छन्। करोड त के, कौडी खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोकाअगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु।’

आफूले स्वार्थ समूहका मतियार र बिचौलियाहरूसँग कहिल्यै पनि सम्झौता नगर्ने जिकिर गर्दै उनले देश र राष्ट्रको हितमा जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताए।

सुझावित समाचार