विश्वको सबैभन्दा ठुलो चलचित्र व्यापार मेला मानिने ‘अमेरिकन फिल्म मार्केट’मा भिडियो सम्पादक निशान घिमिरेले सहभागिता जनाएका छन्।
यही नोभेम्बर ५ देखि १० सम्म लसभेगासको पाम क्यासिनो रिसोर्टमा आयोजना भएको अमेरिकन फिल्म मार्केटमा घिमिरेले आफ्नो कम्पनी राड स्टुडियो र नेपाली चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका हुन्।
कार्यक्रममा ८० भन्दा धेरै देशका १०० भन्दा धेरै वक्ताहरूले फिल्मका आर्थिक पाटोदेखि उत्पादन, वितरण, प्रविधि, एआई, फिल्म स्ट्रिमिङ, स्टोरी टेलिङ आदि विषयहरूमा मन्तव्य दिएका थिए। कार्यक्रममा सहभागीहरूले नयाँ फिल्महरू अवलोकन गर्न, किन्न, लगानीका लागि आफ्नो प्रोजेक्ट प्रस्तुत गर्न र नेटवर्किङ गर्ने अवसर पाउने गर्छन्।
विश्वभरिबाट ६ हजारभन्दा धेरै सफल चलचित्र निर्माता, निर्देशक, सिनेमाटोग्राफर, सम्पादक, चलचित्रकर्मी, वितरक, प्रदर्शकलगायत उच्च चलचित्र अधिकारीहरूको सहभागिता भएको मेलामा गत वर्ष एक अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात लाइसेन्स सम्झौतामा हस्ताक्षर भएको थियो।
अमेरिकी फिल्म मार्केटमा संगालेको आफ्नो अनुभवलाई आगामी प्रोजेक्टहरूमा उतार्ने सोचमा रहेको घिमिरे बताउँछन्। दुई दशकभन्दा बढी समय नेपाली चलचित्र तथा म्युजिक भिडियो सम्पादन क्षेत्रमा काम गरेका निशान भिडियो निर्देशकसमेत हुन्।