१० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षा प्रशिक्षण दिँदै वीरगन्ज महानगर

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिकाले वीरगन्जका किशोरीहरूको आत्मबल सुदृढ बनाउने उद्देश्यका साथ आत्मरक्षा प्रशिक्षण गराउन थालेको छ। भारतका चर्चित अन्तर्राष्ट्रिय ट्रेनर चिता यजनेश सेट्टीले कात्तिक २८ गते करिब १० हजारभन्दा बढी किशोरीलाई प्रशिक्षण गराउनेछन्।

वीरगन्ज महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै आत्मरक्षा तालिममा सहभागी हुन १२ हजारभन्दा बढी किशोरीले फारम भरेर बुझाइसकेको जानकारी दियो।

एकदिने प्रशिक्षणमार्फत किशोरीहरूले आत्मरक्षाको ज्ञान र सीप प्राप्त गर्ने उद्देश्य रहेको नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए। उनका अनुसार करिब १० हजारभन्दा बढी किशोरीलाई एकै ठाउँमा राखेर सामूहिक प्रशिक्षण दिई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कीर्तिमान  कायम गर्ने तयारी छ।

यति ठुलो संख्यामा हुन लागेको प्रशिक्षण सम्भवतः नेपालमै पहिलो भएको उनको भनाइ छ। आत्मरक्षा तालिमले महिला हिंसा र दुर्व्यवहारका घटना नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा लिएको मेयर सिंहले बताए। नेपाल–भारत सहयोग मञ्चको विशेष पहल र वीरगन्ज महानगरपालिकाको निमन्त्रणामा प्रशिक्षक सेट्टी आत्मरक्षा तालिम दिन आएका सिंहले बताए।

फिटनेस ट्रेनर सेट्टी एक अभिनेता, निर्देशक, निर्माता र मार्सल आर्टिस्टसमेत हुन्। ‘निर्भया’ कार्यक्रममार्फत विगत पाँच वर्षमा भारतका साढे १० लाखभन्दा बढी किशोरी एवं महिलालाई आत्मरक्षा तालिम दिएका उनले अमिताभ बच्चन, सलमान खान, अजय देवगनलगायत बलिउडका ठुला कलाकारहरूलाई समेत आत्मरक्षा प्रशिक्षण दिएका बताइएको छ।

थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित उनले प्रतिष्ठित संयुक्त राज्य मार्सल आर्टस् हल अफ फेम अवार्ड पनि प्राप्त गरेका छन्। उनलाई वीरगन्जमा आमन्त्रण गरेर किशोरीलाई आत्मरक्षा तालिम दिन लागिएको हो।

सुझावित समाचार