बाबुको हत्या आरोपमा छोरा पक्राउ

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

काभ्रेको नमोबुद्ध नगरपालिका– ७ मा बाबुको हत्या अभियोगमा एकजना पक्राउ परेका छन् । नमोबुद्ध नगरपालिका– ७ धारापानीस्थित पुजारी थुम्का बस्ने ७४ वर्षीय बलबहादुर श्रेष्ठलाई हत्या गरेको आरोपमा उनकै जेठा छोरा ४५ वर्षीय रामलाल श्रेष्ठ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार गत १० कात्तिकमा बलबहादुर कोठामा मृत अवस्थामा फेला परेका थिए । उनलाई मृत अवस्थामा देखेपछि छोरीले प्रहरी चौकी भकुन्डेबेँसीमा खबर गरेकी थिइन् । बाबुको हत्या आरोपमा रामलाल १४ दिनपछि २३ कात्तिकमा पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानअनुसार ८ कात्तिकमा साँझ करिब ८ बजेको समयमा श्रेष्ठको सपरिवार खाना खाई सुत्न भनी चोटा (माथिल्लो तला)मा गएपछि रामलालले बाबुसँग अंश मागेका थिए । बलबहादुरले अन्य छोरालाई पनि बोलाएपछि मात्र अंशको विषयमा कुराकानी हुने भनेपछि बाबु–छोराबिच भनाभन भएको प्रहरीको भनाइ छ ।

सोही क्रममा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरी हँसियाले टाउकोमा चार–पाँचपटक प्रहार गरेपछि फलामको गलले प्रहार गरेका थिए । त्यसपछि बलबहादुर भुइँमा ढलेको र सोही समयमा गलले घाँटी थिचेर हत्या गरी फरार भएको भनी उनले स्विकारेको प्रहरीको भनाइ छ । खोजतलास गर्दै जाने क्रममा घरनजिकैको ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा उनी पक्राउ परेका हुन् । जिल्ला अदातलत काभ्रेबाट सात दिनको म्याद थपी अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी घलेले जानकारी दिए ।

सुझावित समाचार