पूर्व–पश्चिम राजमार्ग विस्तारको काम सुस्त, नौ महिनामा सात प्रतिशत मात्र

बिहिबार, २२ कार्तिक, २०८१
डिजिटल संस्करण
पूर्व–पश्चिम राजमार्ग विस्तारको काम सुस्त, नौ महिनामा सात प्रतिशत मात्र

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे क्षेत्रमा राजमार्ग विस्तारका लागि खनिएको सडक । तस्बिर : नयाँ पत्रिका

पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टादेखि लौकहीसम्म सडक विस्तारको काम नौ महिनामा सात प्रतिशत भएको छ । काँकडभिट्टादेखि इटहरीसम्म ९५.७६ किलोमिटर सडकलाई चौडा गर्दै चार लेन बनाउने योजनाअनुसार सडक विस्तारको काम पहिलो वर्षको नौ महिनामा सात प्रतिशत मात्र भएको हो । 

१९ अक्टोबर ०२३ मा ठेक्का लागे पनि काम भने फेब्रुअरी ०२४ बाट सुरु भएको थियो । जसमा ६ वटा पुलसँगै सडक विस्तार गर्नुपर्नेछ । यो सडकलाई विभिन्न खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । सडक विस्तारका लागि पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डको कार्यालयसमेत सञ्चालन गरिएको छ । पूर्वी खण्डमा काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर पर्छ भने पश्चिम खण्डमा केर्खादेखि इटहरीसम्मको ५०.७६ किलोमिटर पर्छ । दुवै खण्डमा सडक निर्माणको काम भने करिब सात प्रतिशत मात्र भएको काँकडभिट्टा–लौकही सडक योजनाले जनाएको छ ।

दुई खण्डमा ठूला नदीमा ६ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । पूर्वी खण्डमा निन्दा, बिरिङ र कन्काई पुल छ । पश्चिम खण्डमा रतुवा, बक्राह र लोहेन्द्र पुल पर्छ । पूर्वी खण्डको पुलको काम भने सुस्त गतिमा छ । पूर्वी खण्डको तीनवटा पुल निर्माणको काम चार प्रतिशत मात्र भएको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड)का प्रमुख सुनीलबाबु पन्तले जानकारी दिए । पश्चिम खण्डका तीनवटा पुलको काम करिब साढे सात प्रतिशत भएको काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)का प्रमुख जगत प्रजापतिले बताए ।

बंगलादेशको ढाका हुँदै नेपालको पूर्वी नाका काँकडभिट्टामा जोडिने एसियन राजमार्गसँग जोडिएको नेपालको पूर्व–पश्चिम राजमार्गलाई सहरी क्षेत्रमा सर्भिस लेन र फुटपाथ गरी ६ लेन र अन्य क्षेत्रमा चार लेन बनाउने गरी सडक स्तरोन्नति भइरहेको छ । जसअन्तर्गत काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर सडक दश अर्ब ६ करोडमा एभरासकोन–कालिका जेभीले ठेक्का लिएको छ । उसले सडकमा पर्ने साना खोलामा पुलसमेत निर्माण गर्नेछ । यस्तै, पूर्वी खण्डमा पर्ने कन्काई, निन्दा र बिरिङ नदीको पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ९७ करोडमा ठेक्का लिएको छ । 

केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले नौ अर्ब १३ करोडमा ठेक्का लिएको छ । गोठगाउँदेखि इटहरीसम्मको १०.७६ किलोमिटर कोभेक–सिआरइजिसी–टुन्डी जेभीले चार अर्ब सात करोडमा निर्माणका लागि ठेक्का लिएको छ । पश्चिम खण्डमा पर्ने ठूला नदी रतुवा, बक्राह र लोहेन्द्र पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ६५ करोडमा ठेक्का लिएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । यी सबै ठेक्का १९ अक्टोबर ०२३ मा लागेको छ । सबै ठेक्काको काम तीन वर्षभित्र सक्नुपर्ने आयोजनाले जनाएको छ । 

सडक विस्तारका लागि दुवै खण्डमा सडकमा पर्ने सबै रुख हटाइएको आयोजनाले जनाएको छ । अहिले सडकमा पर्ने सहरमा कति घर भत्काउने भन्ने तथ्यांक संकलनको काम भइरहेको छ । ‘रुख सबै हटाइसकेका छौँ । बिजुलीको पोल हटाउने काम पनि धमाधम भइरहेको छ । यो काम २५ प्रतिशत सकिएको छ,’ पूर्वी खण्ड प्रमुख पन्तले भने, ‘सहरमा कति घर भत्कन्छ भन्ने तथ्यांक संकलनको काम भइरहेको छ । पुरानो रिपोर्ट त छ, तर त्यसमा केही परिवर्तन हुन सक्छ । त्यसैले फेरि रिपोर्ट बनाउँदै छौँ । घर भत्काउनुपरेमा मूल्यांकन गरेर क्षतिपूर्ति दिन्छौँ ।’

नौ महिनामा सात प्रतिशत काम हुनु सन्तोषजनक नै भएको पन्तको दाबी छ । ‘नौ महिनाको समय हेर्दा काम थोरै लाग्छ । तर, अरू आयोजनाभन्दा काम भएको छ । पहिलो वर्षमा रुख र बिजुलीको पोल हटाउँदै साइड क्लियरेन्समा समय लाग्छ,’ उनले भने, ‘असारसम्मा एडिबी र सरकारले दिएको करिब ६५ करोडमध्ये ६२ करोड बजेट खर्च भएको छ । काम सुरु भएलगत्तै बर्खा लाग्यो । त्यसपछि चाडबाड । अब छठपछि लगातार काम गर्ने निर्माण कम्पनीको प्रतिबद्धता छ ।’

सुझावित समाचार