पश्चिम तराईमा फैलिँदै छठ पर्व

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण
पश्चिम तराईमा फैलिँदै छठ पर्व

छठ पर्वका लागि सजाइएको मोहना नदी किनार ।

साढे दुई दशकअघिसम्म छठ पर्वमा सूर्यलाई जल चढाउन सात–आठ परिवार मात्र धनगढी भन्सार रोडस्थित मोहना नदी पुग्थे । नदीकिनारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई जल चढाउने व्रतालुको चहलपहल त्यति हुँदैनथ्यो । तर, अहिले छठ पर्व मनाउनेको संख्या बर्सेनि बढ्दै गएको छ । एक दशकयता छठका वेला मोहना नदीकिनार झकिझकाउ हुन थालेको छ ।

थारू, रानाथारू तथा सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरी आएका समुदायको बाहुल्य रहेको धनगढीमा व्यापार, रोजगारीलगायत कारणले पूर्वीमधेशबाट बसाइँ सरी आएकाको संख्या बढ्दै छ । छठ पर्व अन्य समुदायमा पनि फैलन थालेपछि केही वर्षयता यहाँ छठ भव्य रूपमा मनाउन थालिएको छ । ‘त्यतिवेला मोहनामा गएर पूजाआजा गर्ने सात–आठ परिवार मात्र हुन्थ्यौँ, हिजोआज छठका वेला पूजाआजा गर्न मात्र मोहनाघाटमा १० हजारभन्दा बढी पुग्छन्,’ धनगढीका स्थानीय सन्तोष मण्डल भन्छन्, ‘अन्य समुदायमा पनि छठ पर्व फैलँदै गएको छ ।’

छठ पर्वमा सूर्यलाई जल चढाउन यतिवेला मोहना नदीकिनारमा टेन्ट लगाएर झकिझकाउ पारिएको छ । सांस्कृतिक कार्यक्रमका लागि मञ्च पनि निर्माण गरिएको छ । छठ पूजा सेवा समितिले मोहनाघाटमा करिब १० हजार व्रतालु पूजा गर्न आउने अनुमान गरेको छ । समितिका अध्यक्षसमेत रहेका मण्डलले छठ पर्वमा गत वर्षजस्तै यस वर्ष पनि दर्शकसमेत गरेर मोहना नदीकिसानमा करिब एक लाखको उपस्थित हुने अनुमान रहेको बताए ।

छठ पर्व मधेशी समुदायले धुमधामका साथ मनाउने गरेका छन् । विवाहलगायत कारणले अन्य समुदायसँग पनि अन्तर्सम्बन्ध गाँसिन थालेपछि छठ पर्व पनि विस्तार हुँदै गएको धनगढीका स्थानीय रोशनकुमार कर्ण बताउँछन् । ‘छठ अब हामी मधेशी समुदायको मात्र पर्व रहेन, यसलाई यहाँको अन्य समुदायले पनि स्वीकार गरेको छ,’ उनी भन्छन्, ‘यो यहाँ बस्ने सुदूरपश्चिमेलीकै पर्व भएको छ ।’

मधेशी र यहाँका अन्य समुदायका युवायुवतीबिच वैवाहिक सम्बन्ध गाँसिन थालेको छ । सम्बन्ध साटासाटा हुन थालेपछि छठ पनि फैलँदै गएको कर्णले बताए । छठका अवसरमा भन्साररोडस्थित मोहनाकिसारमा ठुलो भिड लाग्ने गरेको छ । वैवाहिक सम्बन्ध, रहर र देखासिकीले पनि छठ पर्व मनाउनेको संख्या बढेको उनले बताए ।

छठ पर्वका अवसरमा मोहनाकिनारमा टेन्ट लगाएर झकिझकाउ पार्नुका साथै धनगढी बजारमा स्वागतद्वार पनि निर्माण गरिएको छ । यसका लागि सेवा समितिलाई स्थानीय तह र विभिन्न संघसंस्था तथा व्यक्तिले पनि सहयोग गरेका अध्यक्ष मण्डलले बताए । मञ्चमा भजनकीर्तन तथा सांस्कृतिक कार्यक्रम गरिने छठ पूजा सेवा समितिले जनाएको छ ।

पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकांक्षा पूरा हुने जनविश्वाससहित सूर्य देवताको आराधना गरेर चार दिनसम्म यो पर्व मनाउने गरिन्छ । मधेश क्षेत्रमा हिन्दुहरूले यो पर्वलाई श्रद्धा एवं भक्तिपूर्वक धुमधामका साथ मनाउने गर्छन् । पर्वको तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने चलन रहिआएको छ । छठका दिन साँझ नदी तथा जलाशयमा गएर अस्ताउँदो सूर्यलाई पूजासहित अर्घ्य दिएपछि रातभर भजनकीर्तन गरिन्छ । भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर पूजा विसर्जन गर्ने चलन रहेको छठ पूजा सेवा समितिका अध्यक्ष मण्डलले बताए ।

See More On

सुझावित समाचार