महांकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीलाई ३ प्रश्न

बुधबार, २१ कार्तिक, २०८१
डिजिटल संस्करण

दक्षिण ललितपुरमा खानेपानीको समस्या कस्तो छ ?
दक्षिण ललितपुरका सबैजसो क्षेत्रमा दसैँअघिको बाढीपहिरोले ठुलो विनाश निम्त्याएको छ । यहाँका सडक सञ्जाल लगभग ध्वस्त छन् । खानेपानीका अधिकांश इन्टेक र पाइप नष्ट भएका छन् । तत्कालका लागि नजिकका स्रोतबाट तिनै टुक्राटाक्री पाइपलाई जोडजाड गरेर काम चलाइएको छ । समस्या निकै ठुलो छ । २३ सय घरधुरीमध्ये लगभग ७५ प्रतिशत यस समस्याबाट प्रभावित छन् । यहाँको मुख्य चुनौती सडक बनेको छ । अहिलेसम्म हामीसित भएको सीमित स्रोतबाट मुख्य मुख्य नाका जोड्ने प्रमुख सडकहरू खुलाएका छौँ । अझै पनि अधिकांश शाखा सडक खुलाउन बाँकी नै छन् । समस्या ठुलो छ । स्रोत, साधन अत्यन्त सीमित छ । के मात्रै काम गर्ने र कसरी गर्ने भनेर हामी बिलखबन्दमा परिरहेको अवस्था छ ।

यस्तो गम्भीर समस्याको समाधान कसरी गर्नुहुन्छ त ?
संकटको यही समयमा प्रमुख प्रशासकीय अधिकृत चीन भ्रमणमा हुनुहुन्छ । हामीले गाउँपालिकाबाट पाइप किन्ने निर्णय गरिसकेका छौँ । तर, उहाँको अनुपस्थितिले रकम निकासा गर्न सकिएको छैन । संघबाट कर्मचारी खटाउने प्रणाली नै गलत छ । एउटा कर्मचारीको भरमा पालिकालाई बन्धक बनाउने काम भइरहेको छ । माथिबाट लादिएको प्रणालीले गर्दा काम गर्न कठिन छ । तैपनि, हामी प्रयास भने गर्दै छौँ ।

प्रदेश र संघ सरकारको सहयोग कस्तो छ ?
तत्कालीन राहतका रूपमा प्रदेशले २० लाख दिएको छ भने संघले क्षतिको आधारमा गाउँपालिकालाई वर्गीकरण गरी ‘क’ वर्गमा परेको हाम्रो गाउँपालिकालाई एक करोड दिएको छ । यही १४ कात्तिकमा सो रकम पालिकाको खातामा आइसकेको छ । तर, यहाँ भएको क्षतिको आधारमा हेर्दा यो रकमले छोप पनि लाग्दैन । 

सुझावित समाचार