टेस्ट विश्व च्याम्पियनसिपमा भारतको फाइनल यात्रा कठिन

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

२२ नोभेम्बरदेखि अस्ट्रेलियाविरुद्धको पाँचमध्ये चार टेस्टमा जित निकाल्दा मात्र भारत फाइनलमा पुग्न सक्ने

घरेलु मैदानमै न्युजिल्यान्डसँग ३–० ले टेस्ट सिरिज गुमाएपछि भारतको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ । मुम्बईमा भएको तेस्रो तथा अन्तिम टेस्टमा भारत न्युजिल्यान्डसँग २५ रनले पराजित भयो । न्युजिल्यान्डले चोथो इनिङ्समा एक सय ४७ रनका सहज लक्ष्य दिएको थियो । भारत एक सय २१ रनमै अलआउट हुँदा न्युजिल्यान्डले २५ रनको रोमाञ्चक जित निकाल्यो । न्युजिल्यान्डले पहिलो इनिङ्समा दुई सय २५ रन तथा दोस्रो इनिङ्समा एक सय ७४ रनको योगफल बनाएको थियो । भारतले पहिलो इनिङ्समा दुई सय ६३ रन बनाएको थियो । 

अब विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत २२ नोभेम्बरदेखि अस्ट्रेलियाविरुद्ध सिरिज हुँदै छ । भारतले फाइनल स्थान पक्का गर्न अस्ट्रेलियालाई कम्तीमा ४–० ले हराउनुपर्छ । अस्ट्रेलियासँग दुई टेस्ट मात्र गुमाउँदा भारत यसपटक उपाधि दौडबाट बाहिरिनेछ । यसविपरीत न्युजिल्यान्डको अन्तिम दुईमा पुग्ने सम्भावना बलियो देखिएको छ । 

विश्व टेस्ट च्याम्पियनसिपमा पाँच राष्ट्रबिच फाइनल पुग्ने होडबाजी छ । अस्ट्रेलिया, दक्षिण अफ्रिका र श्रीलंकाको सम्भावना उत्तिकै छ । 

इंग्ल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज र बंगलादेश फाइनलको दौडबाट बाहिरिसकेका छन् । सन् २०२३–०२५ को विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा अस्ट्रेलियाले १२ खेलबाट ९० अंक जोडेको छ । भारतले १४ खेलबाट ९८ अंक जोडेको छ । अस्ट्रेलिया शीर्ष र भारत दोस्रो स्थानमा छन् । भारतले श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाका तुलनामा धेरै खेल खेलेको छ । तेस्रो स्थानमा रहेको श्रीलंकाले नौ टेस्टबाट ६० अंक जोडेको छ । दक्षिण अफ्रिकाले आठ टेस्टबाट ५२ अंक हात पारेको छ । 

पूर्वखेलाडीबाट आलोचना
घरेलु मैदानमा नराम्रो हारको सामना गरेपछि भारतीय टोलीका पूर्वदिग्गज खेलाडीहरूले आलोचना गरेका छन् । पूर्वकप्तान सचिन तेन्दुलकरले हारेपछि भारतका प्रत्येक खेलाडीले आत्मसमीक्षा गर्नुपर्ने सुझाव दिएका छन् । ‘घरमै ३–० ले पराजित हुनु राम्रो होइन, हामी न्युजिल्यान्डसँग दुई दशकपछि घरेलु मैदानमा पराजित भएका छौँ,’ सचिनले भने, ‘अब सबै खेलाडीले प्रत्येक खेलमा गरेका गल्ती र आत्मसमीक्षा गर्नुपर्छ ।’ न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि खेलाडीले खराब सर्ट चयन गरेको र अभ्याससमेत कमी भएको उनले बताए ।

पूर्व ब्याट्सम्यान वासिम जाफरले न्युजिल्यान्डले भारतलाई सवै पक्षमा पराजित गरेको प्रतिक्रिया दिएका छन् । ‘न्युजिल्यान्डले पहिलोपटक भारतलाई उसैको भूमिमा सवै पक्षमा हरायो, टेस्टमा वास्तविक जितको हकदार पाहुना टोली हो,’ जाफरले भने, ‘भारतीय खेलाडीले समीक्षा गर्नुपर्छ ।’ पूर्वअलराउन्डर इरफान पठानले अहिलेसम्मकै खराब हार भएको जनाए । ‘मेरो करिअरममा आफ्नै भूमिमा यस्तो हार देखेको थिइनँ,’ पठानले भने, ‘छनोटकर्तादेखि खेलाडीले गल्ती भएका स्थानमा सच्याउनुपर्छ ।’

यसैगरी, इंग्ल्यान्डका पूर्वक्रिकेटर माइकल भानले न्युजिल्यान्डको प्रशंसा गरेका छन् । ‘भारतमाथिको जित अविश्वसनीय थियो, यसमा पनि क्लिनस्विप गर्नु सामान्य होइन,’ भानले भने, ‘भारतीय खेलाडीले तीनवटै टेस्टमा संघर्ष गरेको पाएँ ।’ युवराज सिंहले टेस्टका खेलाडी खेलाडी फिट नभएको जनाए । ‘आइसिसी टी–२० विश्वकपको सफलतापछि हामीले खराब नतिजा सामना गरेका छौँ,’ युवराजले भने, ‘न्युजिल्यान्डविरुद्ध खेलाडी तयार नभएको पाएँ ।’ 

See More On

सुझावित समाचार