डेंगु संक्रमण पहाडी र हिमाली जिल्लासम्म पुग्नुको कारण के होला ?
पाँच–६ वर्षअगाडिसम्म पहाडी जिल्लामा डेंगु संक्रमण थिएन । अन्यत्रबाट संक्रमण भएर आएका व्यक्तिलाई रैथाने लामखुट्टेले टोक्दा मान्छेबाट लामखुट्टेमा संक्रमण सर्दै गयो । जसबाट लामखुट्टेमा एकपछि अर्को जनेरेसन डेंगु फैलिँदै जाँदा पहाडी क्षेत्रमा रैथाने लामखुट्टेबाट मान्छेमा संक्रमण हुन थालेको हो । अबका दिनमा लामखुट्टेको टोकाइबाट बच्नुबाहेक डेंगु संक्रमणबाट बच्ने उपाय रहेन । यसबाहेक मानिसका क्रियाकलापले एडिज जातको लामखुट्टे हुर्किने वातावरणसमेत बन्दै गइरहेकाले मौसमी संक्रमण बिस्तारै ‘इन्डेमिक’मा परिविर्तत हुँदै गएको हो ।
डेंगु संक्रमणको उपचार कति आवश्यक छ ?
डेंगु एउटा भाइरल फिबर हो, जसमध्ये थोरै प्रतिशतमा मात्रै गम्भीर खालको समस्या निम्त्याउँछ । तर, रैथाने लामखुट्टे नै संक्रमित हुँदा पटक–पटक संक्रमण हुने जोखिम बढेर गयो । जसले डेंगु फिबरका कारण अन्य स्वास्थ्य समस्या गम्भीर बनाउँदै लाने जोखिम उच्च रहन्छ । जस्तै, प्लाज्मा लिकेज अर्थात् रक्तस्राव हुने, अत्यधिक पेट दुख्ने, लगातार बान्ता आउने, सास फेर्न गाह्रो हुने, गिजा वा नाकबाट रगत बग्ने, थकान, बान्ता वा दिसामा रगत देखिने, मुख सुक्खा हुने, छालाको रङ पहेँलो हुनेजस्ता समस्या देखिन सक्छन् । यस्ता लक्षण देखिएमा तुरुन्तै उपचारको खाँचो हुने भएकाले बेवास्ता गर्नुहुँदैन । डेंगु संक्रमण भइसकेपछि अधिकांशले लक्षण बेवास्ता गर्ने कारणले समेत ज्यान जानेसम्मको जोखिम रहन्छ ।
रोकथाम र नियन्त्रण किन प्रभावकारी हुन नसकेको होला ?
संक्रमण दर बढेपछि घरवरपर र छरछिमेकमा डेंगु खोज र नष्ट गर भन्ने अभियान मात्र डेंगु नियन्त्रणका लागि पर्याप्त छैन । बढ्दो सहरीकरण वा निर्माण स्थल, बाटो, सडक, चौर वा झाडी वा जतासुकै लामखुट्टे हुर्किने वातावरण छ । पूर्ण रूपमा रोकथाम वा नियन्त्रणका लागि विद्यालयस्तरदेखि नै नियन्त्रणका उपायबारे ज्ञान दिनु आवश्यक छ ।