साफ महिला च्याम्पियनसिपको फाइनलमा छैटौँपटक पनि चुक्यो नेपाल

घरेलु मैदानमै बंगलादेशसँग लगातार दोस्रोपटक फाइनलमा स्तब्ध

बिहिबार, १५ कार्तिक, २०८१
डिजिटल संस्करण
साफ महिला च्याम्पियनसिपको फाइनलमा छैटौँपटक पनि चुक्यो नेपाल

सातौँ दक्षिण एसियाली (साफ) च्याम्पियनसिपको उपाधि विजेता बंगलादेश । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

१५ हजार ३७३ समर्थक र घरेलु टोली नेपाललाई २–१ ले स्तब्ध पार्दै बंगलादेशले बुधबार सातौँ दक्षिण एसियाली (साफ) च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशले लगातार दोस्रोपटक फाइनलमा नेपाललाई हराउँदै उपाधि रक्षा गरेको छ । सन् २०२२ मा दशरथ रंगशालामै भएको उपाधि भिडन्तमा नेपाल बंगलादेशसँग ३–१ ले स्तब्ध भएको थियो । घरेलु मैदानमा नेपालको उपाधि जित्ने लक्ष्य यसपटक पनि पूरा हुन सकेन । १४ वर्षको अन्तरमा नेपाली महिला फुटबल टोलीले समग्रमा १२ अन्तर्राष्ट्रिय फाइनल गुमायो । जसमध्ये ६ वटा साफ च्याम्पियनसिप नै रह्यो । नेपालले साफको सातमध्ये ६ साफ फाइनल खेल्यो । चार भारत र बंगलादेशसँग दुई फाइनल खेल नेपालले गुमाएको छ । सन् २०१६ मा मात्र नेपाल अन्तिम दुईमा पुग्न सकेन । त्यसवेला नेपाल सेमिफाइनलमा रोकिएको थियो । 

दोस्रो हाफमा तीन गोल
नेपाल र बंगलादेशले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । १५ हजार दर्शकका अगाडि दुवै टोलीका खेलाडी मध्यान्तरअघि नर्भस देखिन्थे । यद्यपि, नेपालको तुलनामा बंगलादेशले सुधारिएको प्रदर्शन गरेको थियो । नेपालको फिनिसिङ र मिडफिल्ड कमजोर देखियो । खेलको ५२औँ मिनेटमा मनिका चक्माले बंगलादेशलाई १–० को अग्रता दिलाइन् । नेपाली डिफेन्डरको गल्तीमा उनले सहजै गोल गरिन् । नेपालको डिबक्सभित्र आठ खेलाडी थिए । मनिकाले नेपालको डिफेन्स तोड्दै सहजै गोल गरिन् । बंगलादेशको अग्रता धेरै बेर रहेन । नेपालले चार मिनेटभित्र नै बराबरी गोल फर्कायो । अमिषा कार्कीले उत्कृष्ट बराबरी गोल फर्काउँदा घरेलु दर्शकले खुसी मनाए । अमिषाले प्रीति राईले निकालेको थ्रो बलमा बंगलादेशी गोलरक्षक रुक्मा चक्मालाई बिट गर्दै १–१ का लागि गोल गरिन् । खेलको ८१औँ मिनेटमा बंगलादेशले पुनः गोल गर्दै फाइनलमा २–१ को अग्रता बनायो । रितु पुर्ना चक्माले बक्सबाहिरबाट प्रहार गरेको बल स्विङ भएको थियो । नेपालकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाले पहिलो बारमा बल छेक्ने कोसिस गरेकी थिइन् ।  

समान एक प्रहार पोलमा
पहिलो हाफको १० मिनेटमा रोमाञ्चक भिडन्त भएको थियो । दुवै टोलीका खेलाडी आक्रामक रूपमा प्रस्तुत भएका थिए । खेलको दोस्रो मिनेटमै बंगलादेशकी सविना खातुनको प्रहार क्रसबारमा लागेको थियो । खेलको १०औँ मिनेटमा नेपालकी अमिषा कार्कीले गरेको प्रहार बारमा लागेर फर्किएको थियो । दोस्रो हाफमा नेपालकी कप्तान अञ्जिलाले उत्कृष्ट बचाउ गर्दै फराकिलो गोल अन्तरको हार टारेकी थिइन् । खेलको ६८औँ मिनेटमा मारिया मान्डाले बक्सबाहिरबाट हानेको प्रहारलाई उनले पन्च गरेकी थिइन् । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध सेमिफाइनल खेलेको पहिलो रोजाइमा एक खेलाडीलाई फाइनलमा परिवर्तन गरेका थिए । रेखा पौडेलले भारतविरुद्ध दोहोरो पहेँलो कार्ड सामना गरेपछि फाइनल गुमाएकी हुन् । खेलमा दोस्रोपटक अग्रता गोलपछि बंगलादेशले बल पोसेसनमा पकड बनायो । उसले नेपाललाई आक्रमण बुन्ने अवसर दिएन । 

अमिषालाई परिवर्तन गर्नु नै गल्ती भयो : राजेन्द्र तामाङ, प्रशिक्षक, नेपाल
नेपालको प्रदर्शन हेर्दा समग्रमा साफ च्याम्पियनसिप राम्रो भयो । दोस्रो हाफमा अमिषालाई परिवर्तन गर्नु नै ठूलो गल्तीजस्तो लाग्छ । बंगलादेशको दोस्रो गोल हुँदा हाम्रा गोलरक्षक तयार देखिएनन् । डिफेन्सबाट पनि राम्रो भएन । बंगलादेशीका लागि विजयी गोल गरेकी खेलाडीलाई अनिताले रोक्न सकिनन् ।  अगाडि सावित्रा भण्डारी एक्लैजस्तै देखियो । उनले सही समयमा बल पास नै पाउन नै सकिनन् ।  प्रतियोगितापछि एन्फाले महिला फुटबलबारे योजना बनाउनुपर्छ । साफजस्तो प्रतियोगिता खेल्न छोटो तयारीले पुग्दैन । यसका लागि राम्रो र लामो तयारी हुनुपर्छ । विजेता बंगलादेशको तयारी र योजना निकै राम्रो छ । नेपालले फिफा महिला विश्वकप खेल्ने योजना बनाएको छ । तर, यस किसिमको योजनाले सम्भव छैन । 

प्रशिक्षकको पद छाड्ने घोषणा
नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाड्ने घोषणा गरेका छन् । लगातार दोस्रोपटक बंगलादेशसँग फाइनलमा हारेपछि तामाङले पद छाड्ने घोषणा गरेका हुन् । ‘अब महिला टोलीसँग काम गर्दिनँ, आजको खेल अन्तिम हो,’ उनले भने, ‘राजीनामाभन्दा पनि अब छाड्छु  ।’ उनले प्रशिक्षण करिअरलाई निरन्तरता दिने बताएका छन् । ‘अब म क्लबतिर जान्छु,’ तामाङले भने, ‘नेपाली टोलीमा अरू नयाँ मान्छे आउँछन् ।’ उनको प्रशिक्षण महिला टोलीले गत वर्ष वाफ च्याम्पियनसिप खेलेको थियो । त्यतिवेला नेपाली टोली फाइनलमा जोर्डनसँग पराजित भएको थियो ।

प्रधानमन्त्रीद्वारा नेपाली टोलीको प्रशंसा
प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँँ साफ महिला फुुटबलमा उपविजेता भएको नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरेका छन् । दशरथ रंगशालामा नेपाल र बंगलादेशबिचको फाइनल खेल हेरेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट घरेलु खेलाडीको प्रशंसा गरेका हुन् । ‘अब अर्काे खेल जित्ने गरी मिहिनेत हुने विश्वास छ । उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीलाई धन्यवाद छ,’ उनले भने । 

उपविजेता नेपाललाई काठमाडौं महानगरको २५ लाख पुरस्कार
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले बुधबारै एक कार्यक्रमबिच उपविजेता टोलीलाई चेक हस्तान्तर गर्दैै पुरस्कृत गरेका हुन् ।

सुझावित समाचार