\'हनी ट्रयापिङ’ गिरोहसँग मिलेकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी एक महिनादेखि फरार

निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले दिएन चासो

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण

सिंगो प्रहरी संगठनकै बदनाम गराउने गरी ‘हनी ट्रयापिङ’ गिरोहसँग मिलेकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन । जबकि अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको एक महिना हुन लागिसकेको छ । इन्स्पेक्टर पक्राउ नपर्दा सो घटनाका कतिपय विषय अझै अधुरै छन् । इन्स्पेक्टर र ताज इस्लामबिच कसरी सम्पर्क भयो भन्ने विषयमा अझै अस्पष्ट छ । 

कतिसम्म भने प्रहरीले इन्स्पेक्टरको मोबाइल फरेन्सिक ल्याबमा समेत पठाएको छैन । जसकारण यसमा संलग्न अन्यलाई जोगाउन लागिएको आशंका गरिएको छ । घटनामा पर्दापछाडि रहेका एसपी थापाकै चलखेलका कारण अनुसन्धान प्रभावित भएको प्रहरी उच्च स्रोत बताउँछ । छानबिन समितिमा समेत उनले बयान दिन अस्वीकार गरेकी थिइन् । 

निलम्बित इन्स्पेक्टर शाही यो घटनामा मिल्ने मात्र होइन, प्रमाण नष्टमा समेत संलग्न देखिएकी छिन् । उनले अभियुक्त ताज इस्लामको मोबाइल प्रहरी कार्यालयबाटै गायब बनाएकी थिइन् । साथै, मिलापत्र गरेबापत पीडितसँग डेढ लाख रुपैयाँ लिएको खुले पनि त्यसमा समेत विस्तृत छानबिन हुन सकेको छैन । गम्भीर घटनामा मुछिएकी इन्स्पेक्टर एक महिनासम्म पक्राउ नपर्नुले संगठनले नै उनलाई जोगाएको आशंका बढेको छ । 

सुझावित समाचार