कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई ३ प्रश्न

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण

कांग्रेसले भ्रष्टाचार मुद्दामा सर्वाेच्च अदालतबाट समेत दोषी ठहर भइसकेका सर्लाही जिल्ला सभापतिलाई किन निलम्बन नगरेको ? 
यो अहिले अत्यन्तै महत्व र चासोको विषय हो । यो विषयमा नेपाली कांगेस यसै पनि गम्भीर हुन्छ किनभने यी कांग्रेसले नै उठाएका विषय हुन् । हामीले नै विश्वसनीय आधार खोजेर सहकारी ठगीलगायत विषय संसद्मा उठाएका हौँ । जो–जो दोषी छन् तिनले दण्डित हुनुपर्छ । तर, निर्दाेष नफसून् भन्नेमा पनि हामी उत्तिकै सचेत छौँ । सहकारी ठगी र अन्य अपराधमा संलग्नहरू व्यक्ति हुन् या संस्था कोही पनि छुट्नुहुँदैन । प्रक्रियालगायतका कारण केही ढिलो भएको मात्रै हो । 

पक्राउपुर्जी जारी भएका तरुण नेतालाई पनि राजनीतिक संरक्षण गरेको आरोप छ नि ?
उनको बचाउ भयो कारबाही सुरु नै भएन भन्ने पनि होइन । पक्राउपुर्जी जारी भएको छ पक्राउ पर्छन् । हामीले यो विषयमा गृहमन्त्रीसँग चासो राखेका छौँ र ध्यानाकर्षण गराएका छौँ । एउटै विषयवस्तुमा एकजनालाई कारबाही हुने अर्काेलाई उन्मुक्ति हुने भन्ने त पटक्कै हुँदैहुँदैन । कसैले यस्तो सोचेको छ भने त्यो उसको दिवास्वप्न मात्र हो । हामी यो विषयमा एकदमै संवेदनशील छाैँ । 

कारवाहीको मामलामा सरकारले पक्षपात गरेको हो ? 
यस्तो खालको पक्षपात सरकारले गरेको छ भन्ने थोरै पनि आभास भयो भने हामी त्यसविरुद्ध कुनै पनि हदसम्म जानुपर्छ जानेछाैँ पनि । नेपाली कांग्रेस गलतलाई गलतै भन्छ । तर, आरोप लागेकै भरमा कसैलाई दण्डित गर्नुपर्छ भन्ने कुरा पनि न्यायको सिद्धान्तविपरीत हुन्छ । 

सुझावित समाचार