विश्वकप क्रिकेट लिग-२ : नेपाल र स्कटल्यान्ड भिड्दै

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डको सामना गर्दै छ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा मंगलबार राति हुने खेलमा नेपालले जित हासिल गर्दै उक्त सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा रहेको छ। यसअघि यही ११ कात्तिकमा भएको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो। 

त्यसो त स्कटल्यान्ड पनि उक्त सिरिजमा दोस्रो जितको खोजीमा छ। यसअघि भएको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराइसकेको छ। नेपाल र स्कटल्यान्डबिचको खेल नेपाली समयानुसार मंगलबार राति ९ः१५ बजे सुरु हुनेछ। 

नेपाल र स्कटल्यान्डबिच हालसम्म ६ एकदिवसीय खेल भएका छन्। जसमा दुवै टोलीले समान ३–३ खेल जितेका छन्। सन् २०२७ सम्म चल्ने विश्वकप लिग–२ क्रिकेटमा नेपालले नौवटा त्रिकोणात्मक सिरिज खेल्नेछ। जसमा हरेक सिरिजमा नेपालले चार एकदिवसीय खेल खेल्नेछ। 
    
लिग–२ मा नेपालले नौ खेलमा सात - सात हार, एकमा जित तथा एक खेल रद्द हुँदा तीन अंकका साथ तालिकाको सातौँ स्थानमा छ। यता स्कटल्यान्ड आठ खेलमा पाँच जित, दुई हार र एक खेल रद्दसँगै ११ अंकका साथ चौथो स्थानमा छ।

१२ खेल खेलेको क्यानडा आठ खेलमा जित तथा चार खेलमा हार बेहोर्दै १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित स्कटल्यान्ड, अमेरिका, क्यानडा, नेदरल्यान्डस्, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन्। 

सुझावित समाचार