बर्दियामा भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन्। मधुवन नगरपालिका– ३ नेपाल–भारत सीमानजिक कोठिया सामुदायिक वनबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका– १० नर्सरी बस्ने चन्द्रबहादुर भण्डारी, पहाडीपुर बस्ने ३८ वर्षीय सुकुमराज चौधरी र कर्मनी बस्ने ५६ वर्षीय श्यामकुमार गौतम रहेका छन्। उनीहरूको साथबाट भरुवा बन्दुक एक नाल, कार्टिज एक थान, टर्च एक थान र सादा मोबाइल एक थान बरामद भएको छ ।
प्रारम्भिक अनुसन्धानमा उनीहरू रातिको समयमा सामुदायिक वन र भारतीय वनमा सिकार खेल्न जाँदै गरेको खुलासा भएको प्रहरीले जनाएको छ। उनीहरूलाई पक्राउ गरी आवश्यक प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले बताए ।