गत वर्ष सार्वजनिक गरिएको प्रोजेक्ट २०२५ मा ट्रम्पका योजना र नीति समेटिएको छ, पुस्तकलाई भावी रिपब्लिकन राष्ट्रपतिको रोडम्यापको रूपमा लिइएको छ
अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनको सन्दर्भमा विगत एक वर्षदेखि धेरै सुनिएको पदावली हो– ‘प्रोजेक्ट २०२५’ । उग्र दक्षिणपन्थी योजना समावेश गरिएको यो पुस्तक दोस्रोपटक राष्ट्रपति चुनिएमा डोनाल्ड ट्रम्पको नीतिगत आधार बन्ने डेमोक्रेटिक पार्टीले आरोप लगाउँदै आएको छ । तर, ट्रम्पको चुनावी समूहले ‘प्रोजेक्ट २०२५’ बाट आफूलाई सकेसम्म टाढै राख्ने प्रयास गरिरहेको छ । ट्रम्प स्वयंले यस नीतिगत प्रस्तावबारे आफूलाई ‘केही पनि थाहा नभएको’ टिप्पणी गरेका छन् । तर, पुस्तकमा प्रस्ताव गरिएको संघीय एजेन्सी र तिनमा काम गर्ने विशाल श्रमशक्ति कटौतीको विषय भने ट्रम्पको दृष्टिकोणसँग धेरै नजिक देखिन्छ ।
त्यसबाहेक प्रोजेक्ट २०२५ तयार पार्ने समूहमा ट्रम्पको पहिलो कार्यकालमा उनको प्रशासनसँग काम गरेको कैयौँ मानिस छन् । अमेरिकाको चुनावी अभियानमा नीति–निर्माणसम्बन्धी पुस्तक विरलै यति धेरै बहसको केन्द्रमा रहने गर्छ । विगत एक वर्षको अवधिमा प्रोजेक्ट २०२५ को चर्चा कुनै दिन सेलाएन । ९०० पृष्ठको पुस्तकको चर्चाले चुनावी वर्षमा कुनै नीति कसरी लामो समय बहसमा रहन सक्छ भनेर देखाउँछ ।
पुस्तक ट्रम्पको आगामी कार्यकालको नीतिगत खाका मात्र होइन, सरकारी सेवामा थपिने २० हजार रोजगारीको डाटाबेस पनि हो । पुस्तकमा अहिलेसम्म बाहिर नल्याइएको अर्को एक योजना पनि छ, जसमा ट्रम्प निर्वाचित भए उनले पहिलो दिन नै लागू गर्न सक्ने कार्यको सूची उल्लेख छ ।
प्रोजेक्ट २०२५ लाई वासिङ्टन डिसीस्थित कन्जर्भेटिभमाझ सम्मानित थिंकट्यांक हेरिटेज फाउन्डेसनलले तयार पारेको हो । फाउन्डेसनका अध्यक्ष केभिन रोबर्ट्स आफ्नो संस्थाले तयार पारेको नीतिले निम्त्याएको बहसबाट सन्तुष्ट देखिन्छन् । उनले पछिल्लो ग्रीष्ममा समर्थकलाई पठाएको इमेलमा लेखेका थिए, ‘ ढुक्क हुनुस् । हामी हार मान्नेछैनौँ । हामी पछि हट्नेछैनौँ ।’
परियोजना २०२५ ले कसरी जन्म लियो ?
‘प्रोजेक्ट २०२५’ गत वर्ष अप्रिलमा सार्वजनिक भएको थियो । सार्वजनिक गर्दा हेरिटेज फाउन्डेसनले यसलाई आगामी कन्जर्भेटिभ राष्ट्रपतिको रोडम्याप र ‘प्रशासनिक राज्य भत्काउने’ प्रतिवेदनका रूपमा प्रस्तुत गरेको थियो । परियोजनासँग जोडिएका ट्रम्पका अघिल्लो कार्यकालका मानिसहरूले यसअघिको गल्तीहरूबाट बच्न र ट्रम्पलाई उनका आगामी प्राथमिकता कार्यान्वयन गर्न सहयोगी हुने बताए । ‘ट्रम्प राष्ट्रपति हुनासाथ काम सुरु गराइहाल्ने प्रयास हो यो,’ प्रोजेक्ट २०२५ भित्रको राष्ट्रपतीय संक्रमण योजनाका निर्देशक पल ड्यान्सले सन् २०२३ मा एसोसिएटेड प्रेस(एपी)सँग भनेका थिए ।
हेरिटेज फाउन्डेसनले रेगनकालीन ‘म्यान्डेट फर लिडरसिप’बाट प्रेरित भएर यस पुस्तक तयार पारेको देखिन्छ । रोनाल्ड रेगनको शासनको प्रारम्भिक दिनमा ‘म्यान्डेट फर लिडलरसिप’ ह्वाइटहाउसमा यति धेरै लोकप्रिय भएको बताइन्छ कि पुस्तकका प्रतिहरू मार्गनिर्देशनका रूपमा ह्वाइटहाउसका हरेक कर्मचारीको डेक्समा राखिएका हुन्थे रे ! कम्तीमा १०० जना कन्जर्भेटिभको समूहले सहकार्य गरेर बनाइएको ‘प्रोजेक्ट २०२५’ को निर्माणमा ट्रम्पको पहिलो कार्यकालमा काम गरेका धेरै मानिसहरू पनि संलग्न रहे । संघीय सरकारको बृहत् पुनर्संरचनाको प्रस्ताव गरिएका ‘प्रोजेक्ट २०२५’ले कानुन मन्त्रालयमा राजनीतिक नियुक्ति बढाउनुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सुरक्षा क्षेत्रमा काम गरेको अनुभव भएकाहरूलाई सरकारी नियुक्तिमा प्राथमिकता दिनुपर्नेदेखि शिक्षा मन्त्रालय हटाउनेसम्म र अवैध रूपमा अमेरिकामा प्रवेश गरेका आप्रवासीहरूलाई रोक्ने विषय पनि परियोजनामा समावेश छ ।
पुस्तकको सबैभन्दा मुख्य प्रस्तावले झन्डै ५० हजार सरकारी कामदारहरूलाई बर्खास्त गर्न सकिने र ट्रम्पप्रति वफादारलाई सरकारी सेवामा भर्ती गर्न सजिलो बनाउने उपाय सुझाएको छ । खासमा यो प्रस्ताव ट्रम्पले उनको अघिल्लो कार्यकाल छाड्नुअघि ल्याउन खोजेको ‘सेड्युल एफ नीति’जस्तो देखिन्छ । ट्रम्पले पहिलो कार्यकालमा उनका प्राथमिकतालाई कार्यान्वयन गर्न अवरोध पुर्याएको दोष दिइने ‘डिप स्टेट’ ध्वस्त पार्न यो कदम आवश्यक भएको कन्जर्भेटिभ वृत्तमा चर्चा हुन्छ ।
जब प्रोजेक्ट २०२५ बहसको केन्द्रमा तानियो
‘प्रोजेक्ट २०२५’बारे प्रारम्भिक प्रतिक्रिया दिनेमा स्वयं राष्ट्रपति जो बाइडेन थिए । गत वर्ष ‘स्टेट अफ द युनियन’ सम्बोधनअघि समाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति बाइडेनले ‘प्रोजेक्ट २०२५’ खतरनाक भएको चेतावनी दिए । त्यसपछि तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’का डेमोक्याट विधायकले परियोजनाको खतरामाथि प्रकाश पार्न भन्दै ‘प्रोजेक्ट २०२५ टास्कफोर्स’ नै गठन गरे । लगत्तै चर्चित हास्य कलाकार जोन ओलिभरले एचबिओ टिभीमा प्रसारण हुने उनको रात्रिकालीन सोमा प्रोजेक्टको खिल्ली उडाए ।
तर, जुन महिना ट्रम्पसँग राष्ट्रपतीय डिबेटमा बाइडेनको निराशाजनक बहस नहुँदासम्म ‘प्रोजेक्ट २०२५’ त्यति चर्चामा आएको थिएन । एक दाबीअनुसार, राष्ट्रपतीय बहस भएकै साता सामाजिक सञ्जाल ‘एक्स’मा गरिएको ‘प्रोजेक्ट २०२५’ सम्बन्धी एउटा ‘थ्रेड’ले झन्डै दुई करोड भ्यु पाएको थियो ।
एक अवार्ड कार्यक्रममा बोल्ने क्रममा हलिउड अभिनेत्री ताराजी पी हेन्सनले परियोजनाको खतरामाथि प्रकाश पार्दै भनिन् ‘प्रोजेक्ट २०२५ लाई हल्का नलिऔँ । यो के हो आफैँले हेर्नुस् !’ त्यसपछि कैयौँ युवा क्रिएटरहरूले ‘प्रोजेक्ट २०२५’ नागरिक अधिकार, प्रजनन अधिकारदेखि अन्य विभिन्न अधिकारविरुद्ध भएको भन्दै टिकटक भिडियो पोस्ट गर्न थाले । ‘ती विरोध वास्तवम तल्लो तहबाट उठेको विद्रोहको उदारण हुन्,’ सेन्टर फर अमेरिकन प्रोग्रेससँग आबद्ध जो राडोसेभिचले भने, ‘युवाहरूले एउटा पार्टीले आफ्नो चुनावी मुद्दाका रूपमा अघि सारेको प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गरे ।’
परियोजना २०२५ बाट ट्रम्पको दूरी
ट्रम्पको चुनावी टिमले कहिल्यै पनि ‘प्रोजेक्ट २०२५’ लाई अँगालेको छैन । ट्रम्पको पहिलो कार्यकालमा काम गरेका धेरै मानिस परियोजना निर्माणमा संलग्न भएको तथ्यका बाबजुद ट्रम्प यसबाट टाडै रहने प्रयास गरिरहेका छन् । ट्रम्पसँग सुमधुर सम्बन्ध भएका अन्य कन्जर्भेटिभ समूहहरूले पनि उनको दोस्रो कार्यकालका लागि नीतिगत तयारी गरिरहेका छन्, तर उनीहरूले आफ्नो काम बाहिर चर्चामा ल्याएका छैनन् । यसैलाई संकेत गर्दै ट्रम्पको चुनावी टिमले हेरिटेज फाउन्डेसनलाई बारम्बार प्रोजेक्ट २०२५ को प्रचार घटाउन र यसलाई ट्रम्पको चुनावी अभियानसँग नजोड्न चेतावनी दिने गरेको छ ।
यी चेतावनीलाई हेरिटेज फाउन्डेसनका रोबर्ट्सले सुनेजस्तो देखिँदैन । जुन कुरा यही वर्ष जुलाईमा सर्वोच्च अदालतले ट्रम्पलाई २०२० जुलाई ६ मा संसद् भवनमा भएको हुलदंगामा उन्मुक्ति प्रदान गरेपछिको प्रतिक्रियाले समेत देखाउँछ । ‘देश दोस्रो अमेरिकी क्रान्तिको सँघारमा छ । वामपन्थीले विरोध नजनाए यो क्रान्ति रगतविहीन रहनेछ,’ रोबर्ट्सले समाजिक सञ्जालमा लेखेका थिए । उक्त भनाइको धेरैले विरोध जनाए । ट्रम्पले केही दिनपछि ‘प्रोजेक्ट २०२५’बारे टिप्पणी गरे ।
‘मलाई प्रोजेक्ट २०२५ बारे केही थाहा छैन,’ उनले भने,‘ यसका पछाडि को छ भन्ने पनि मलाई थाहा छैन । परियोजनाका संलग्न मानिसले भनिरहेका केही कुरासँग म असहमत छु । तिनका केही कुराहरू अति हास्यास्पद र खराब छन् । उनीहरूको कामप्रति मेरो शुभकामना छ, तर मेरो उनीहरूसँग कुनै सरोकार छैन ।’ त्यतिवेला ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा आफ्नै नीति प्रस्ताव गर्दै थिए, जसलाई उनको पहिलो कार्यकालमा काम गरेका कन्जर्भेटिभ नेता रस भोगले आंशिक रूपमा लेखेका थिए । भोगले उता प्रोजेक्ट २०२५ र योसँग सम्बन्धित १८० दिने प्ले–बुकमा आफ्नोतर्फबाट योगदान पुर्याएका थिए ।
ट्रम्पले असन्तुष्टि जनाएको केही समयपछि ‘प्रोजेक्ट २०२५’का मुख्य वास्तुकार डान्स हेरिटेज फाउन्डेसनबाट अलग भए । उक्त कदमलाई ट्रम्पको चुनावी टिमले प्रोजेक्ट २०२५ को अवसानको रूपमा प्रस्तुत गर्यो । ‘प्रोजेक्ट २०२५ को अवसानको खबरलाई भव्यताका साथ स्वागत गरिन्छ । यो प्रकरणले राष्ट्रपति ट्रम्प र उनको चुनावी अभियानमाथि आफ्नो प्रभावलाई गलत ढंगले प्रस्तुत गर्ने प्रयास गर्ने हरेक व्यक्ति वा समूहलाई सन्देशको काम गर्नुपर्छ ,’ ट्रम्पको चुनावी अभियानका व्यवस्थापक सुसी वाइल्स र क्रिस लासिभिटाद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको थियो ।
परियोजना २०२५ को भविष्य
अमेरिकामा राष्ट्रपति चुनावसँगै संसद्(कंग्रेस)को तल्लो सदन(हाउस)का सबै सिटका लागि र माथिल्लो सदन(सिनेट)को एकतिहाइ सिटमा चुनाव हुन्छ । ती सदनका लागि हुने चुनाव निकै प्रतिस्पर्धात्मक हुने गर्छ । प्रायः एउटा सिटको अन्तरले सदनमाथि कुन पार्टीको बहुमत हुनेछ भन्ने कुरा निर्धारण हुन्छ । यसै परिपे्रक्ष्यमा डेमोक्रेटिक पार्टीसँग आबद्ध बाहिरी समूहले रिपब्लिकनहरूलाई ‘प्रोजेक्ट २०२५’ का कट्टरपन्थी प्रस्तावसँग जोडेर प्रचार गरिरहेको छ । डेमोक्रेटिक पार्टीले उच्च प्रतिस्पर्धा हुने एक दर्जन सिटका लागि त्यहाँका रिपब्लिकन उम्मेदवारहरूले विगतमा गर्भपतन, सरकारी लगानी र अन्य मुद्दामा गरेका मतदानलाई ‘प्रोजेक्ट २०२५’ का प्रस्तावहरूसँग जोड्ने प्रयास गरेका छन् ।
(मस्कारो समाचार एजेन्सी एपीका लागि अमेरिकी संसद् बिटकी प्रमुख संवाददाता हुन् ।)
– एपीबाट