लेखक सापकोटासँग ‘परदेश संवाद’

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

सम्पूर्ण किताब नारायणगढ र एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनको संयुक्त आयोजनामा लेखक गोपी सापकोटासँग बिहीबार ‘परदेश संवाद’ गरिएको छ । लन्डन बसाइका भोगाइ समेटिएको सिर्जनात्मक गैरआख्यान ‘लन्डन अनप्लग्ड’का लेखक सापकोटासँग सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले संवाद गरेका थिए ।

संवाद कार्यक्रममा सापकोटाले लेखकसँग वैदेशिक मोह, विदेशको बसाइ, कामको अवस्थाबारे कुराकानी गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीले विदेशको उच्च शिक्षा अध्ययन र त्यहाँ रहेका नेपाली विद्यार्थीको अवस्थाबारे लेखकसँग जिज्ञासा राखेका थिए ।

कार्यक्रममा कवि ईश्वर कँडेलले हचुवाका भरमा विदेश जाँदा समस्या आइपर्ने भन्दै केही काम सिकेर मात्रै विदेश जाँदा राम्रो हुने बताएका थिए । पत्रकार सूर्यप्रकाश कँडेल, सामाजिक अभियन्ता प्रकाश पौडेल र एक्सपर्ट एजुकेसनका बिजनेस डेभलपमेन्ट मेनेजर विनोदबाबु रिजालले लेखक सापकोटालाई विभिन्न जिज्ञासा राखेका थिए ।

सुरुमा नेपालमा प्रख्यात सामाजिक जीवन छोडेर जाँदा लन्डनमा धेरै कुरा अप्ठ्यारो भएको भन्दै बिस्तारै परिस्थिति सजिलो बन्दै गएको उनले बताए । ‘विदेश जानु भनेको थप समृद्धि खोज्न निस्कनु हो,’ सापकोटाले भने, ‘त्यहाँ आइपर्ने अप्ठ्यारा टार्न सक्ने भएर जानुहोला ।’

सापकोटाले वैदेशिक उच्च शिक्षा, विदेशी जीवन, भोगाइलगायतका अनुभव सुनाएका थिए ।

सुझावित समाचार