सेमिफाइलनमा भारतविरुद्ध क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्रीमा तत्काललाई रोक लगाएको छ।
बुधबार हुने फाइनल खेलमा घरेलु टोली नेपाल र साबिक विजेता बंगलादेश प्रतिस्पर्धा गर्दै छन्। जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिले फाइनल खेलको टिकट बिक्री सोमबारबाटै गरेपछि एन्फाले यस्तो निर्णय गरेको हो।
सोमबार बिहानैबाट टिकट बिक्री सुरु भएपछि दिउँसो बन्द गरिएको थियो। एन्फाले अर्को सूचना नआएसम्म तत्काललाई टिकट बिक्री नगर्न र खरिद नगर्न अनुरोध गरेको छ।
१४ कात्तिकको बुधबार साँझ ६ः३० बजेबाट दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा हुन गइरहेको नेपाल र बंगलादेशबिचको फाइनल खेलको टिकट बिक्री अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सबैको लागि जानकारी गराइन्छ,’ एन्फाले भनेको छ, ‘सम्झौताविपरीत टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सत्यतथ्य बुझ्ने कार्य भइरहेको छ।’
नेपाल र भारतबिच आइतबार भएको खेलमा प्यारापिटमा क्षमताभन्दा बढी दर्शक पुगेका थिए। १३ हजार क्षमताको रंगशालामा खुट्टा टेक्ने स्थानसमेत थिएन। खेल सुरु नहुँदै सबै ढोका खुला गरेपछि सुरक्षाकर्मीलाई नै रोक्न हम्मेहम्मे परेको थियो। उग्रदर्शकले मैदानमा बोत्तल र जुत्ता फ्याल्दा खेल रोक्नुपरेको थियो। दर्शकले रेफ्री र भारतीय टिमलाई बोत्तल प्रहार गरेका थिए।
एन्फाको आयोजनामा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप १ कात्तिकबाट सुरु भएको हो। सात टिम सहभागी प्रतिस्पर्धामा पुनः नेपाल र बंगलादेश उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। सन् २०२२ मा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।