बागलुङ नगरपालिका युसिएलजीको बोर्ड सदस्य

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

बागलुङ नगरपालिका युनाइटेड सिटी अफ लोकल गभर्मेन्ट एसिया प्रशान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको सदस्य भएको छ। चीनको जोजजोईमा भएको काउन्सिल एक्जिक्युटिभ बैठकबाट बागलुङ  नगरपालिकाले सदस्यता प्राप्त गरेको हो।

बैठकमा सहभागी हुन चीन पुगेका बागलुङका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले युसिएलजी सदस्यताको प्रमाणपत्र लिएका छन्। सदस्य बनेसँगै युसिएलजीसँग समन्वय र सहकार्य गरी नगरपालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

नेपालको तर्फबाट यसअघि नगरपालिका महासंघ, गाउँपालिका महासंघ, धुलिखेल नगरपालिकालगायतका केही स्थानीय तह सदस्य बनिसकेका छन्। यस वर्ष गण्डकी प्रदेशका तनहुँको व्यास नगरपालिका र स्याङ्जाको वालिङ  नगरपालिकाले पनि सदस्यता प्राप्त गरेका छन्।

नगरपालिकामा लैंगिक समानता, सामाजिक समावेशीकरण र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न युसिएलजीसँग सहकार्यका लागि प्रस्तावना पेस गरिएको प्रमुख प्रशासकीय अधिकृत कँडेलले जानकारी दिए। नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने जनाएको छ।

सदस्यता प्राप्त गरेसँगै बागलुङ नगरपालिकालाई एसिया क्षेत्रमा जोड्ने काम भएको छ भने विभिन्न राष्ट्रका स्थानीय तहसँग पनि समन्वय र सहकार्य हुने बताइएको छ। संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त युसिएलजी दक्षिण पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रका स्थानीय सरकार सम्मिलित सबैभन्दा ठुलो सञ्जाल हो। यसको प्रधान कार्यालय इन्डाेनेसियाको जकार्तामा छ।

सुझावित समाचार