सरकारले यस वर्ष कञ्चनपुरमा समयमै धान खरिद सुरु गरेको छ। सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि कञ्चनपुरमा धान खरिद सुरु गरेको हो। यस वर्ष गत वर्षभन्दा तीन दिनअघि र ०७९ सालको तुलनामा डेढ महिनाअघि नै धान खरिद भएको हो।
गत वर्ष १५ कात्तिक र ०७९ सालमा २९ मंसिरमा खरिद सुरु गरेको खाद्यले यस वर्ष १२ कात्तिकदेखि नै धान खरिद सुरु गरेको कार्यालयले जनाएको छ। यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४१० रुपैयाँ तोकिएको छ। गत वर्षभन्दा २१२ रुपैयाँ बढी र त्यसभन्दा अघिल्लो वर्षको तुलनामा ४४३ रुपैयाँ बढीमा धान खरिद भइरहेको छ। ०७९ मा प्रतिक्विन्टल दुई हजार ९६७ रुपैयाँ र ०८० मा तीन हजार १९८ रुपैयाँमा खरिद भएको थियो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकारी मनोज चन्दले १२ कात्तिक सोमबार बिहान १० बजेदेखि धान खरिद सुरु गरिएको बताए। उनका अनुसार पहिलो दिन झन्डै १५ क्विन्टलभन्दा बढी धान खरिद गरिएको छ। यस वर्ष प्रतिकिसान ५० क्विन्टल गरी कुल १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको उनले बताए।
यस वर्ष पनि धान खरिदका लागि सम्बन्धित वडाबाट सिफारिससहित किसान पहिचान गरिनेछ। ‘धान खरिदको सीमा निर्धारण केन्द्रीय कार्यालयबाटै भएको हो,’ उनले भने, ‘गत वर्षभन्दा यस वर्ष धान सफा र राम्रो छ।’ किसानलाई चेकमार्फत रकम भुक्तानी गरिनेछ। विगतका वर्षहरूमा धान ढिलो गरी खरिद गरेपछि किसान मारमा परेका थिए। यस वर्ष डेढ महिनाअगाडि नै धान खरिद सुरु भएपछि किसान बिचौलियाबाट नठगिने अपेक्षा गरिएको छ।
भीमदत्त नगरपालिका– ११ ऐरीका किसान डिल्लीराज पन्तले विगतका वर्षभन्दा यस वर्ष सरकारले किसानले उत्पादन गरेका धान समयमै खरिद गरेको बताए। ‘धान खरिद गर्ने ठिक समयमै सरकारले हामी किसानको धान खरिद गरेको छ,’ उनले भने, ‘धान खरिद प्रक्रियामा वडाबाट सिफारिससहितको काममा ढिलासुस्ती देखिएको छ।’ उनले किसानले उत्पादन गरेको धान सीधै स्थानीय स्तरबाटै खरिद गर्नुपर्ने सुझाव दिएका छन्।
बेदकोट नगरपालिका– ९ सुन्दरपुरका किसान रतन रानाले यस वर्ष सरकारले समयमै धान खरिद सुरु गरेपछि किसानलाई सुविधा भएको बताए। ‘विगतका वर्षहरूमा ढिलो गरी धान खरिद गरेपछि किसानले उत्पादनलगत्तै गल्ला व्यवसायी एवं बिचौलियालाई सस्तोमै बेच्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘यस वर्ष सरकारले समयमै धान खरिद गरेपछि हामी किसान बिचौलियाबाट र सस्तोमै धान बेच्नबाट जोगिएका छौँ, सरकारले खरिद गर्ने धानको मूल्यसमेत पाएका छौँ।’