नेपालको क्रेडिट रेटिङको प्रारम्भिक प्रतिवेदन कात्तिकमै

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

नेपालको सार्वभौम साख मूल्यांकन (क्रेडिट रेटिङ) गरिरहेको अन्तर्राष्ट्रिय संस्था फिचले कात्तिकभित्रै प्रारम्भिक प्रतिवेदन दिने भएको छ । फिचबाट नेपालको क्रेडिट रेटिङको प्रतिवेदन प्राप्त गर्ने चरणमा रहेको अर्थ मन्त्रालयले जनाएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको सय दिन पुगेको अवसरमा बुधबार गरेको सम्बोधनमा पनि क्रेडिट रेटिङ सकिन लागेको भन्दै त्यसलाई प्रगतिका रूपमा समावेश गरिएको छ । ‘अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्यांकन (क्रेडिट रेटिङ)को कार्य अन्तिम चरणमा पुगेको छ,’ प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ । त्यसअघि अर्थ मन्त्रालयले सार्वजनिक गरेको तीन महिनाको प्रगति विवरणमा पनि नेपालले क्रेडिट रेटिङ प्रतिवेदन प्राप्तिको चरणमा रहेको उल्लेख छ । मन्त्रालयका प्रवक्ता महेश भट्टराईले प्रारम्भिक प्रतिवेदन प्राप्तिको चरणमा रहेको बताए । यकिन मिति तय भइनसकेको भए पनि यसै महिना प्राप्त हुने सम्भावना रहेको उनले बताए ।  

‘फिचका प्रतिनिधिहरूले पछिल्लोपटक भदौ अन्तिममा नेपाल भ्रमण गरेर आवश्यक भेट, छलफल तथा अध्ययन गरेका थिए,’ उनले भने, ‘अध्ययन सकेर फर्कँदा उनीहरूले एक–डेढ महिनाभित्रै प्रारम्भिक प्रतिवेदन पठाउने बताएका थिए, सोअनुसार यही कात्तिकभित्र प्रतिवेदन आउन सक्छ ।’ प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि थप अन्तक्र्रिया हुने र अन्तिम प्रतिवेदन बन्ने उनले बताए । 

सार्वभौम साख मूल्यांकन भनेको कुनै पनि देशको ऋण तिर्न सक्ने क्षमता एवं जोखिमको मापन पद्धति हो । देशका विभिन्न आर्थिक एवं विकासका सूचक, सुशासन, राजनीतिक अवस्थालगायतको मूल्यांकन गरेर क्रेडिट रेटिङ गरिन्छ । जसबाट कुनै पनि देशले ऋण तिर्न सक्छ कि सक्दैन, जोखिम के–कति छ, उसको ऋण तिर्न सक्ने क्षमता र इच्छाशक्ति के–कस्तो छ भन्ने देखाइन्छ । यसैलाई आधार मानेर विकास साझेदार, लगानीकर्ता तथा दातृ निकायले लगानी गर्छन् ।

गत भदौ अन्तिम साता नेपाल आएको मूल्यांकन टोलीले अर्थमन्त्री, गभर्नर, योजना आयोगका उपाध्यक्ष, एडिबी र विश्व बैंकका प्रतिनिधिलगायतसँग भेट तथा छलफल गरेको थियो । मूल्यांकन टोलीसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए । 

सुझावित समाचार