१० महिनाअघि बेपत्ता भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का वीरेन्द्र फेम्बो फेला परेका छन् । फुङलिङ नगरपालिका– ४ बस्दै आएका उनी १९ मंसिर ०८० मा काठमाडौं हिँडेका थिए । तर, उनलाई अपहरण र बेपत्ता बनाएको आरोप लागेका मञ्जुल निरौला भने अझै थुनामै छन् ।
वीरेन्द्रका दाजु खगेन्द्रले निरौलामाथि अपहरण गरी बेपत्ता बनाएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । खगेन्द्रकै जाहेरीका आधारमा प्रहरीले निरौलामाथि जिल्ला अदालत ताप्लेजुङमा मुद्दा दर्ता गर्यो । अदालतले फेम्बोलाई बेपत्ता बनाएको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएअनुसार अहिले पनि उनी थुनामा छन् । निरौलाका परिवारले जिल्ला अदालतको आदेशमा चित्त नबुझेर उच्च अदालत इलाम इजलासमा कैफियत निवेदन दिएपछि जिल्ला अदालतको सक्कलै मिसिल पठाएको ताप्लेजुङ जिल्ला अदालतका सूचना अधिकारी विष्णुकुमार राईले बताए ।
जेलमा रहेका निरौला यातायात मजदुर भएकाले काठमाडौं जाने सवारीका टिकट काट्थे । फेम्बोको काठमाडौं जाने टिकट काटिदिएकै कारण निरौलामाथि अपहरण र बेपत्ता बनाएको आरोप लागेको बताइन्छ । वीरेन्द्र मानसिक रूपमा अस्वस्थ र अशक्त व्यक्ति हुन् । परिवारको स्वीकृतिविनै उनलाई टिकट काटेर बाहिर पठाएको अभियोग उनको परिवारले निरौलामाथि लगाएका थिए ।
फेम्बो सम्पर्कविहीन भएको ६ दिनमै प्रहरीको सम्पर्कमा रहेको पाइएको छ । निरौलाविरुद्ध जाहेरी दिने खगेन्द्रले पनि भाइ वीरेन्द्र फेला परिसकेको पुष्टि गरेका छन् । निरौलाविरुद्ध अदालतमा मुद्दा चलिरहँदा वीरेन्द्र प्रहरी सम्पर्कमा आएका थिए । प्रहरी वृत्त जगाती भक्तपुरको पत्रअनुसार यस्तो तथ्य भेटिएको हो ।
प्रहरी वृत्त जगाती भक्तपुरको पत्र (चलानी नं. ७३) अनुसार वीरेन्द्र फेम्बो २५ मंसिर ०८० मा नेपाल घर आश्रम डोलेश्वरधाम पुगेको देखिन्छ । आश्रमले समेत त्यही दिन वीरेन्द्रलाई आश्रमस्थलमा स्वीकार गरेको प्रतिलिपिपत्र सार्वजनिक भएको छ । थुनामा रहेका निरौलालाई तत्काल रिहाइ गरी गैरन्यायिक हिरासतबापत उचित क्षतिपूर्तिसमेत दिन उनका आफन्त तथा बुद्धिजीवीहरूले माग गरेका छन् ।