गाँजाको खेती, बिक्री तथा सेवनलाई वैधता दिएको एसियाको एक मात्र देश थाइल्यान्डबाट नेपालमा गाँजा तस्करी हुन थालेको छ । पछिल्लो एक सातामा थाइल्यान्डबाट आएको करिब ११ किलो गाँजा बरामद भएको हो ।
थाइल्यान्डबाट गाँजा लिएर आएका दुईजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । लागुऔषध नियन्त्रण ब्युरोले गाँजा लिएर आएका एक थाई, एक भारतीय तथा सहयोग गर्ने एक नेपालीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
गत ५ कात्तिकमा थाई महिला सोमरुदी होवाङलाई प्रहरीले विमानस्थलबाट पाँच केजी गाँजासहित पक्राउ गरेको थियो । सो गाँजा लिन गएका नेपालका प्रेम शाह पनि पक्राउ परेका छन् । त्यस्तै, थाइल्यान्डबाटै आएका भारतीय नागरिक तिलकप्रसाद शर्मा पाँच केजी नौ सय ग्राम गाँजासहित ६ कात्तिकमा पक्राउ परेकोमा ब्युरोकै हिरासतमा छन् । भारत लैजानका लागि नेपाललाई ट्रान्जिट बनाइएको प्रहरी अधिकारीले बताएका छन् । ‘उनीहरूले सो गाँजा नेपाल हुँदै भारत लैजान लागेको देखिन्छ,’ लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी दिनेशकुमार आचार्य भन्छन्, ‘थाइल्यान्डबाट नेपालमा विगतमा गाँजा आएको थाहा थिएन, सायद त्यहाँको सरकारले गाँजालाई वैधानिकता दिएकाले पनि तस्करीमा सहज भएको हुन सक्छ ।’
२०२२ को जुनदेखि थाइल्यान्ड सरकारले गाँजा बिक्री तथा सेवनलाई वैधानिक बनाइएको थियो । पर्यटकलाई लक्षित गरी यसरी गाँजा बिक्रीलाई वैधानिकता दिएपछि अन्य देशमा तस्करी पनि सहज भएको हो । त्यसको असर नेपालमा समेत देखिएको छ ।
नेपालमा उत्पादन हुने गाँजा र चरेस पनि विश्वका विभिन्न देशमा तस्करी हुने गरेको छ । थाइल्यान्डमा उत्पादन हुने गाँजा फरक खालको हुने भएकाले नेपाल र भारतमा तस्करी हुन गरेको प्रहरी अधिकारी बताउँछन् । नेपालमा उत्पादन हुने गाँजा प्राकृतिक भएकाले यसमा हुने रसायन टेट्राहाइड्रोक्यानाबिनोल (टिएचसी) कम हुन्छ । तर, थाइल्यान्डमा वैधानिक हुने भएकाले त्यहाँ उच्च रसायन हुने गरी खेती हुने भएकाले त्यसको माग बढी हुने गरेको छ ।
नेपालको गाँजामा टिएचसी करिब ३–४ प्रतिशत हुनेमा थाइल्यान्डको गाँजामा करिब ४५ प्रतिशत हुने गरेको छ । सोही कारण थाइल्यान्डको गाँजा नेपालमा तस्करी भएको हुन सक्ने ब्युरोका एसएसपी आचार्य बताउँछन् । यस्तो गाँजाको मूल्य पनि उच्च हुने गरेको छ ।
प्रहरीले पाएको सूचनाअनुसार भारतमा ग्रामको करिब एक हजार भारुमा बिीक्र हुने गरेको छ । जसअनुसार एक किलोकै करिब १० लाख भारु पर्दछ । उच्च नाफा भएकाले पाँच किलो गाँजा तस्करीकै लागि विदेशमा भरिया खटाएर तस्करी हुने थालेको प्रहरी अधिकारी बताउँछन् ।
विगतमा अमेरिकाबाट पनि नेपालमा आएको गाँजा बारम्बार बरामद भएको छ । अमेरिकामा पनि धेरै राज्यमा गाँजा बिक्री तथा सेवन वैधानिक छ ।
थाइल्यान्डमा गाँजा बिक्रीमा फेरि रोक लगाउने तयारी
पर्यटक बढाउने उद्देश्यले थाइल्यान्ड सरकारले दुई वर्षअघि गाँजालाई वैधानिकता दिए पनि त्यसले धेरै समस्या निम्त्याएको भन्दै फेरि रोक लगाउने गृहकार्य थालिएको छ । हाल त्यहाँको सरकारले औषधि प्रयोजनबाहेक गाँजाको खेती, बिक्री तथा प्रयोगमा रोक लगाउने कानुन अघि बढाएको छ ।
पर्यटकलाई लक्षित गरी गाँजा खुला गरिए पनि त्यसले थाई युवाहरूमा दुव्र्यसन फसाएको तथा समाजका नकारात्मक गतिविधि बढाएको भन्दै हालको सरकारले औषधिजन्य प्रयोजनका लागि मात्र गाँजाको प्रयोग गर्न दिन लागेको छ । गत २० सेप्टेम्बरमा ब्लुमबर्ग डटकममा प्रकाशित समाचारअनुसार नयाँ कानुनमा गाँजा सेवन गर्नेलाई ६० हजार भाट (करिब दुई लाख ४० हजार रुपैयाँ)सम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ । २०२४ को अन्तिमसम्म गाँजा बिक्री र प्रयोगलाई नियन्त्रण गर्ने थाई सरकारको तयारी छ ।
नेपालमा पनि गाँजाको खेती र प्रयोगलाई वैधानिक बनाउन केही समूहले पहल गरिरहेका छन् । तर, प्रहरी अधिकारी भने औषधिजन्यबाहेकको प्रयोगमा गाँजालाई वैधानिकता दिए त्यसले समाजमा नकारात्मक असर पर्ने बताउँछन् ।