झापाको दमक नगरपालिका– ९ का ३७ वर्षीय यमु निरौलाको हत्या प्रकरणमा थप एकजनाविरुद्ध पूरक जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक– ८ का नम चेम्जोङविरुद्ध पूरक जाहेरी परेको हो । योसँगै निरौलाको हत्या आरोपमा जाहेरी पर्नेको संख्या सात पुगेको छ । बुधबार परिवारका आफन्तले ६ जनाविरुद्ध जाहेरी दिएका थिए ।
बिहीबार नयाँ पत्रिका दैनिकमा हत्या स्थलमा रहेको सिसिटिभीमा देखिएको समाचार प्रकाशनपछि निरौलाको परिवारले चेम्जोङविरुद्ध पूरक जाहेरी दर्ता गरेको हो । चेम्जोङ एमालेको राष्ट्रिय युवा संघका पूर्वकेन्द्रीय सदस्य हुन् । उनी प्रधानमन्त्री केपी ओलीनिकटका हुन् । उनी निर्वाचनमा ओलीलाई सघाउन खटिँदै आएका पात्र हुन् ।
निरौलाको मंगलबार दमक– ३ स्थित मावा खोलानजिक रहेको जग्गामा हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जग्गा विवादका समयमा भेला भएकाको कुटाइबाट उनको मृत्यु भएको हो । यो जग्गा लामो समयदेखि विवादित थियो । विगतमा क्रसर राखिएको यो जग्गामा एउटा पक्षले खरिद गरेको भन्दै एक्स्काभेटर लगेर सम्याउन थालेपछि विवाद भएको स्थानीयले जनाएका छन् ।
हत्यामा संलग्न भएको भन्दै परिवारले बुधबार दमक– ८ का बुद्धि थापा, दमक– ३ का राजु भनिने शेरबहादुर नेम्वाङ, संखुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, मोरङ उर्लाबारी– ६ का प्रकाश कार्की, उर्लाबारी– ७ का ध्रुव गौतम र सुनसरी इटहरीका डेबिड घलेविरुद्ध जाहेरी दिइएको थियो । किटानी जाहेरीमा परेकामध्ये थापा पनि एमाले कार्यकर्ता हुन् । थापा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन् ।
प्रहरीले हत्या आरोपित सातजनामध्ये मंगलबार दुईजनालाई पक्राउ गरेको थियो । अन्य पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यामा संलग्नलाई राजनीतिक संरक्षण हुने भन्दै आफन्तले बिहीबार पनि दिनभर इलाका प्रहरी कार्यालय दमक घेराउ गरे । एमाले कार्यकर्ता संलग्न भएको भन्दै उनीहरूले एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेका थिए । राजनीतिक संरक्षणका कारण हत्याको तीन दिनसम्म आरोपितलाई पक्राउ गर्न नसकिएको आफन्तको भनाइ छ । निरौलाको शव परिवारले बुझ्न मानेका छैनन् । उनको शव दमक अस्पताल राखिएको छ । हत्यामा संलग्नलाई राजनीतिक संरक्षण हुन सक्ने भन्दै पक्राउ गरिएपछि मात्र शव बुझ्ने परिवारले अडान लिँदै आएको छ ।