बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई कलैया उपमहानगरपालिका– ४ बाट ७८ हजार रुपैयाँसहित पक्राउ गरेको हो। साहले बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियार हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताए।
सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको टोली कलैया पुगेको र रकम लिइरहेको अवस्थामा साहलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि हेटौँडा लगिएको गौतमले जानकारी दिए।