रामेछापको मन्थली नगरपालिका– ५ सुनारपानीका रामबहादुर शाहीले भदौरे कालिका कृषि तथा पशुपक्षी फार्म दर्ता गरी ड्रागन फ्रुटसँगै मनै लोभ्याउने गरी सयपत्री फूलखेती गरेका छन्।
तिहार नजिकिँदै गर्दा सयपत्रीको माग धेरै हुने भएकाले कृषक शाहीले सयपत्री फूल लगाएका हुन्। उनले ड्रागन फ्रुटसँगै लगाएका सयपत्री फूल फुलेसँगै यतिखेर घर वरपरका बारी पहेँलपुर र मनमोहक भएको छ। शाहीले लामो समयसम्म बाँझै रहेको पाँच रोपनी जग्गामा ड्रागन फ्रुटको खेती सुरु गरेका थिए।
लामो समयसम्म राजधानी काठमाडौंमा नर्सरी चलाएर बसेका शाहीलाई एकाएक आफ्नो जन्मस्थान फर्केर केही गरौँ भन्ने हुटहुटी जागेर ४२ वर्षपछि आफ्नै गाउँमा आएर नर्सरी स्थापना गरी ड्रागन फ्रुट खेती गरेका हुन्। उनले हाल तीन रोपनी जग्गामा ड्रागन फ्रुट र दुई रोपनी जग्गामा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती गरेका छन्।
उनले उत्पादन गरेको ड्रागन फ्रुट प्रतिकेजी ३५० रुपैयाँ र सयपत्री फूल प्रतिकेजी २५० रुपैयाँमा बिक्री–वितरण गर्दै आएका छन्। एक केजी सयपत्री फूलबाट चारदेखी पाँचवटा माला तयार हुन्छ। उनले उत्पादन गरेको सयपत्री फूल रामेछापको अलावा सिन्धुली, दोलखा र काभ्रेलगायतका जिल्लामा समेत पुग्ने गरेको छ। तिहारमा सयपत्रीको माला मात्रै बिक्री गरेर तीनदेखि पाँच लाख रुपैयाँ कमाइ हुने अपेक्षा उनको छ।
वर्षौँसम्म बाँझो रहेको पाखोबारीमा नर्सरी स्थापना गरी खेती सुरु गरेका शाहीको बगान हेर्न जाने मानिसको घुइँचो लाग्ने गरेको छ। बारीभरि लटरसम्मै फुलेको सयपत्रीले वरपरको बस्तीसम्म सुगन्धित बनाएको छ। अहिले शाहीको नर्सरी र बगैँचामा घुम्न र फोटो खिच्न जानेको संख्या बढ्दो छ। उनले वनमाराको झाडी मासेर दुई वर्षअघि ड्रागन फ्रुट खेती सुरु गरेका थिए। एउटै जग्गाबाट अहिले उनले दोहोरो लाभ लिन सफल भएका छन्। सयपत्री फूलखेतीबाहेक विभिन्न प्रजातिका बिरुवा उत्पादन गर्न शाहीले नर्सरीसमेत चलाइरहेका छन्।
‘०५३ सालदेखि काठमाडौंमा नर्सरी स्थापना गरी बसेको थिएँ। त्यहाँ नर्सरी गर्दा धेरै अनुभव बटुलेपछि आफ्नै जन्मभूमिमा केही गरौँ भन्ने सोच आएपछि गाउँमा फर्केर यो व्यवसाय सुरु गरेको हुँ,’ उनले भने। आफ्नै देशमा काम गर्दा सरकारले पनि सहयोग गर्ने र मिहिनेत गरे कमाइ पनि राम्रै हुने भएकाले आफूलाई विदेश जानुभन्दा आफ्नै देशमा केही गरौँ भन्ने सोच आएर यो पेसा सुरुवात गरेको उनको भनाइ छ। अहिले स्थानीय तहले पनि आर्थिक सहयोग गरेकाले आफूलाई झनै खुसी लागेको उनले सुनाए।
कृषक शाहीलाई मन्थली नगरपालिकाले फूलखेतीका लागि एक लाख अनुदान रकम दिएको मन्थली नगरपालिका– ५ का वडाध्यक्ष रविन कार्कीले जानकारी दिए। उनले भने, ‘बाँझो रहेको जग्गामा शाहीले स्थापना गरेको नर्सरी देखेर सबै मोहित भएका छन्। त्यत्तिकै खाली छोडेका बाँझाे जग्गामा पनि केही गरौँ भन्ने हुटहुटीले वरपरका किसानलाई पनि सकारात्मक प्रभाव परेको छ।’
कृषक शाहीले गरेको मिहिनेत देखेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जुनार जोन कार्यक्रममार्फत कागतीका बिरुवा उत्पादनका लागि पाँच लाख अनुदान रकम उपलब्ध गराएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए।