बाढीले क्षति पुर्‍याएका शैक्षिक संस्था तत्काल पुनर्निर्माण नहुने

तिहारपछि जोखिमयुक्त विद्यालयमै पठनपाठन

मंगलबार, ६ कार्तिक, २०८१
डिजिटल संस्करण

असोज दोस्रो साता (१०–१२ असोज) आएको बाढीले भत्काएका विद्यालय तथा शैक्षिक संस्था तत्काल पुनर्निर्माण नहुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले क्षति पुगेका विद्यालय तथा शैक्षिक संस्था मर्मत एवं पुनर्निर्माण सुरसारै नगरेका कारण विद्यालय खुल्नुअघि बन्ने सम्भावना छैन । 

बाढी–पहिरोले क्षति पुर्याएका अधिकांश जिल्लाका सरकारी विद्यालयमा तिहारको भाइटीका (१८ कात्तिक) सम्म बिदा दिइएको छ । यस हिसाबले १७ दिनपछि विद्यालय खुल्दा बालबालिकाले जीर्ण र जोखिमयुक्त विद्यालयमै बस्नु पर्नेछ । मन्त्रालयले ४ कात्तिकसम्म बाढी–पहिरो प्रभावित स्थानीय तहलाई क्षतिको मर्मत वा पुनर्निर्माणमा लाग्ने लागतसहित विवरण पठाउन निर्देशन दिएको छ । त्यसपछि मात्रै स्टिमेट र पुनर्निर्माण योजना बनाउने तयारी मन्त्रालयको छ । 

मन्त्रालयका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले लागत माग भएअनुसार स्टिमेट तयार गरिने बताए । उनले सबै विद्यालयमा पुगेको क्षति तत्काल मर्मत वा पुनर्निर्माण सम्भव नभएको पनि बताए । ‘बाढीका कारण शैक्षिक संरचनामा ठुलो क्षति पुगेको छ, अहिलेसम्म कतै पनि मर्मत वा पुनर्निर्माण सुरु गरिएको छैन,’ उनले भने, ‘पालिकाहरूलाई ४ कात्तिकसम्म विवरण पठाउन भनेका छौँ । त्यसपछि बल्ल मन्त्रालयले पुनर्निर्माण थाल्नेछ ।’ उनका अनुसार पालिकाबाट विवरण प्राप्त भएपछि उनीहरूले नै बनाउन सक्ने, प्रदेश सरकारले बनाउने र केन्द्र सरकारले बनाउनुपर्ने भौतिक संरचनाको टुंगो लाग्नेछ । सामान्य क्षति पुगेको विद्यालय पुनर्निर्माण स्थानीय तह आफैँले गर्नेछन् । तर, अधिकांश विद्यालयमा धेरै क्षति पुगेको छ । पालिकाले मात्रै पुनर्निर्माण गर्न सक्ने अवस्था नदेखिएकै कारण मन्त्रालयले वर्गीकरण थालेको हो । बाढी–पहिरोका कारण शैक्षिक संरचनामा पाँच अर्बभन्दा बढीको क्षति पुगेको मन्त्रालयको प्रारम्भिक आकलन छ । 

बाढी–पहिरोका कारण १८ विद्यार्थीले गुमाए ज्यान
बाढी–पहिरोमा परी १८ जना विद्यार्थीले ज्यान गुमाएका थिए भने देशभर दुई सयवटा विद्यालयमा क्षति पुगेको मन्त्रालयको अनुमान छ । यसमध्ये धेरै नै क्षति पुगेर पुनर्निर्माण हुनुपर्ने २४ वटा विद्यालय छन् । ती विद्यालयमा तिहारलगत्तै पठनपाठन गर्न सक्ने अवस्था नरहेको मन्त्रालयको भनाइ छ । तर, शैक्षिक गतिविधि सञ्चालनका लागि पालिकाले ठाउँ व्यवस्थापन गर्ने गरी तयारी थालिएको छ । बाढीका कारण सबैभन्दा बढी क्षति काभ्रेपलाञ्चोकका विद्यालयमा पुगेको मन्त्रालयले जनाएको छ । काभ्रेपलाञ्चोकको कालिकादेवी, नवज्योति सिमभञ्ज्याङ आधारभूत विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, भुमेस्थान मावि, फुल्चोकी, बाल कल्याण, ग्रामोदय आवासीय विद्यालय, भालेश्वर मावि र कौशिक वैदिक गुरुकुल विद्यालयमा धेरै नै क्षति पुगेको छ ।

यस्तै ललितपुरको ज्ञानज्योति आधारभूत विद्यालय, गणेश आवासीय विद्यालय, नागदह आवासीय विद्यालय, गोदावरीको जनविकास मावि, बुद्ध मावि बाडेगाउँ, हिमाली आवासीय विद्यालय, गोदावरी आवासीय विद्यालय भवनमा क्षति पुगेको छ । चितवनको मालपुर माविको एउटा भवन भत्किएको छ भने तनहुँको कालिकादेवी आवासीय विद्यालय, सुर्खेतको भगवती मावि र चन्द्रज्योति माविका दुई–दुईवटा भवन भत्किएका छन् । 

सुझावित समाचार