महिला फुटबलको घरेलु संरचना नै नभएको माल्दिभ्सविरुद्ध नेपालले गर्यो गोलको वर्षा
दक्षिण एसियाली क्षेत्रमा घरेलु फुटबल संरचना कमजोर मानिएको माल्दिभ्सविरुद्ध नेपालले ११–० को एक पक्षीय नतिजा निकालेको छ । सातौँ साफ च्याम्पियनसिपअन्तर्गत सोमबार समूह ‘बी’को आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराउने लक्ष्यका साथ दशरथ रंगशालामा उत्रिएको थियो । नेपालको सानदार जितमा स्ट्राइकर रेखा पौडेल र मिडफिल्डर प्रीति राईले समान एक ह्याट्रिक गर्न सफल भए । माल्दिभ्सको अति नै कमजोर डिफेन्सको फाइदामा रेखा एक्लैले पाँच गोल गरेकी थिइन् । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भइन् ।
नेपाललाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा सविता रानामगर, अनिता केसी र अमिषा कार्कीले समान एक गोल गरे । नेपालका प्रशिक्षक राजेन्द्र तामाङले कमजोर प्रतिद्वन्द्वीमाथि गोलको वर्षा गरी जित निकाल्नु गर्व गर्नुपर्ने नभएको प्रतिक्रिया दिएका छन् । ‘हामीले ११–० को जितमा गर्व वा खुसी मनाउनुपर्नेछैन, माल्दिभ्स सहभागीमध्ये कस्तो टोली भनी बुझ्नुपर्छ । जहाँ घरेलु महिला लिगको संरचना नै छैन,’ तामाङले भने, ‘त्यस्तो टोलीलाई ११ गोल हान्दैमा खुसी हुनुपर्दैन, तर तीन अंक आउँदा पक्कै खुसी छु ।’
शीर्ष स्थानमा नेपाल
जितसँगै नेपाल आफ्नो समूहको शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले दुई खेलबाट चार अंक बटुलेको छ । भुटानले पनि सोमबारै श्रीलंकालाई ४–१ ले हरायो । गोलअन्तरमा भुटान दोस्रो स्थानमा छ । लगातार दुई हारले माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । सेमिफाइनलमा नेपाल, भुटान र श्रीलंकाबिच त्रिकोणात्मक भिडन्त देखिन्छ ।
पाँच खेलाडीलाई विश्राम
प्रशिक्षक तामाङले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी माल्दिभ्ससँगको प्रतिस्पर्धामा नियमित कप्तान तथा गोलरक्षक अन्जिला तुम्बा सुब्बा, अमिषा कार्की, अमृता जैशी, पूजा रानालाई प्लेइङ सेटमा विश्राम दिएका थिए । फ्रान्सबाट आइतबार राति १ बजे नेपाल फर्केकी स्ट्राइकर सावित्रा भण्डारी बेन्चमै रहिन् । नेपालले सुरुमै गोल गरेपछि सावित्रालाई आराम दिएको तामाङले बताए । ‘सुरुबाटै गोल भएपछि सावित्रालाई जोखिम उठाएर मैदानभित्र प्रवेश गराउनुपर्ने आवश्यक देखिनँ,’ तामाङले भने ।
६ हजार समर्थकमाझ सजनी थोकरले ६७औँ मिनेटमा रक्षक गीता रानामगरको स्थानमा राष्ट्रिय टोलीबाट डेब्युको अवसर पाइन् । प्रशिक्षक तामाङले दोस्रो रोजाइकी गोलरक्षक अञ्जना रानामगरको स्थानमा तेस्रो रोजाइकी गोलरक्षक उषा नाथलाई ७६औँ मिनेटमा मौका दिएका थिए ।
रेखा र प्रीतिको ह्याट्रिक
नेपालले पहिलो हाफमा चार गोल र दोस्रो हाफमा सात गोल गर्यो । रेखा र प्रीतिले राष्ट्रिय टोलीबाट पहिलोपटक ह्याट्रिक गरेका हुन् । रेखाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गरिन् । ८३औँ मिनेटमा मैदानबाट बाहिरिएकी रेखाले २३औँ, ४२औँ, ४८औँ, ६३औँ र ७८औँ मिनेटमा गोल गरेकी थिइन् । युएईको आबुधाबी काउन्ट्री क्लबमा अनुबन्ध उनले भुटानविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् ।
प्रीतिले पाँचौँ, ६५औँ र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक लगाइन् । उनले ८७औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरिन् । सविता राना मगरले २९ र ६७औँ मिनेटमा गोल गर्न सफल भइन् । मैदान प्रवेश गरेकी दुई मिनेटभित्रै अनिता केसीले गोल गरिन् । अमिशा कार्कीले ८८औँ मिनेटमा गोल गर्दै नेपाललाई ११–० को जित दिलाइन् ।