सिराहाको कर्जन्हा नगरपालिका– ११ कर्जन्हा बजारस्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा कार्यरत चारजना कर्मचारीले करिब डेढ वर्षदेखिको तलब सुविधा नपाएको भन्दै आइतबार विद्यालयको मूलगेटमै तालाबन्दी गरेका छन् । लामो दसैँ बिदापछि पहिलो दिन आइतबार खुल्नुपर्ने विद्यालयको मूलगेटमा कर्मचारीहरू बिहान साढे ८ बजेतिर ताला लगाएर धर्नामा बसेपछि विद्यार्थी घर फर्किन बाध्य भए ।
मूलगेटमै ताला लगाएर कर्मचारीहरू धर्नामा बसेकाले शिक्षक र विद्यार्थी विद्यालय प्रवेश गर्न नपाउँदा पढाइ नभएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी हाईले बताए । उनका अनुसार कर्जन्हा बजारसहित बडहरामाल, गौताडी, सिक्रौन, मरेवा, प्रेमनगर, बस्तीपुर, प्रयागपुरलगायत ठाउँबाट पढ्न आएका विद्यार्थीहरू नपढी घर फर्किएका हुन् । उनका अनुसार विद्यालयमा सिभिल इन्जिनियरिङको प्राविधिक धारसहित एक हजार ९२७ विद्यार्थी अध्ययनरत छन् । ‘आर्थिक वर्ष ०८०÷८१ देखि नै विद्यालयको मातहत रहेको कर्जन्हा बजार र तीनवटा पोखरी ठेक्का नगरपालिकाले नै लगाउन थालेपछि आम्दानीको स्रोत रोकियो,’ उनले भने, ‘पालिकालाई ठेक्काबापतको रकम विद्यालयलाई दिन पटकपटक आग्रह गरे पनि नपाउँदा चारजना कर्मचारीलाई समयमा तलब खुवाउन सकेनौँ ।’
हाईका अनुसार दुईजना कार्यालय सहायकहरूको जनही मासिक १८ हजार पाँच सय रुपैयाँ, पुस्तकालयतर्फका कर्मचारीको २७ हजार ४० र लेखापालको मासिक करिब ३९ हजार रुपैयाँ तलब तोकिएको छ । ‘गत आवमा तलबबापत थोरै रकम बुझाए पनि बक्यौता रह्यो, चालू आव ०८१÷८२ को साउनदेखि नै तलब बाँकी छ,’ उनले भने, ‘नगरपालिकाले बजार र पोखरीको ठेक्का रकम विद्यालयलाई वेलैमा उपलब्ध गराएको भए समस्या हुँदैनथ्यो ।’
विद्यालयमा कार्यरत ३० जना शिक्षकले दसैँमा एक महिनाको अतिरिक्तसहित तलब पाउँदा आफूहरूको हात भने खाली रहेको कार्यालय सहायक कुशेश्वर साहले गुनासो गरे । एउटै विद्यालयका शिक्षकले दसैँअगावै अतिरिक्त एक महिनाको सुविधासहित तलब पाए, तर आफूहरूको तलब नआउँदा परिवारको दसैँ खल्लो भएको उनले दुःखेसो गरे ।
विद्यालयमा कार्यालय सहायक साहसहित गोविन्द श्रेष्ठ, लेखापाल श्रीप्रसाद पासमान र पुस्तकालयतर्फका कर्मचारी रामअवशेश्वर पासमानले पछिल्लो करिब डेढ वर्षदेखिको तलब सुविधा पाएका छैनन् । कर्मचारीले तलब सुविधा नपाएकोबारे जानकार रहे पनि आफू जिल्लाबाहिर रहेकाले फर्किएपछि छलफल गरी समाधान निकालिने कर्जन्हा नगरका प्रमुख भोलाप्रसाद पोखरेलले बताए ।
विद्यालयको मूलगेटमै ताला लगाएर चारजना कर्मचारी धर्नामा बस्दा पठनपाठन नै रोकिएपछि पालिकासँग समन्वय गरी कर्मचारीको समेत सहमतिमा आइतबार दिउँसो ताला खोलिएको छ । ‘तलब नपाएका कर्मचारीको समस्याको विषयमा सोमबार पालिकामा छलफल गर्ने मौखिक सहमतिपछि ताला खोलिएको हो,’ प्रधानाध्यापक हाईले भने ।