स्वामी रामकृष्ण परमहंसले दक्षिणेश्वरमा पुजारीको जिम्मेवारी पाए । उनको तलब थियो महिनाको २० रुपैयाँ । यति रकम तत्कालीन समयमा उनको गुजाराका लागि पर्याप्त थियो । उनी आफ्नो जिम्मेवारीमा तन्मयतापूर्वक खटिए ।
रामकृष्णले जिम्मेवारी सम्हालेको १५ दिनपछि उनलाई मन्दिर व्यवस्थापन समितिसमक्ष उपस्थित हुन पत्र काटियो । पत्र पाएपछि उनी समितिसमक्ष उपस्थित भए । तर, आफूलाई त्यहाँ किन बोलाइएको थियो, त्यसबारे भने उनी अनभिज्ञ थिए । समितिका पदाधिकारीले उनीसित प्रश्न गरे– पण्डितजी, तपाईंविरुद्ध धेरै भक्तजनले उजुरी दिएका छन् । यसबारे हामी तपाईंबाट केही जान्न चाहन्छौँ । तपाईं हरेक फल पहिले आफूले चाखेर मात्र र फूल सुँघेर मात्र भगवान्लाई अर्पित गर्नुहुन्छ रे !
के कुनै मन्दिरमा पुजारीले भगवान्लाई जुठो प्रसाद र फूल चढाउँछन् हो ? दक्षिणेश्वरमा तपाईंले यसै गरी पूजा गर्दै हुनुहुन्छ ? समितिका अधिकारीको प्रश्न सुनेपछि रामकृष्ण केही गम्भीर भए र उत्तर दिए– कुनै पनि फूल पहिले आफूले नसुँघी त म कसरी भगवान्लाई चढाउन सक्छु ? कुनै फूलमा सुगन्ध रहेनछ भने भगवान्लाई सास्ती हुँदैन ? अझ दुर्गन्ध नै रहेछ भने त भगवान्को हालत कस्तो होला ? रह्यो फलफूल चाखेर चढाउने गरेको आरोप । यसमा पनि मेरो भनाइ त्यही हो ।
मेरी आमाले भान्छामा केही पकाउँदा मीठो भयो कि भएन भनेर आफूले चाखेर मात्र मलाई खान दिनुहुन्थ्यो । अनि भगवान्का लागि कुनै फलफूल या प्रसाद चढाउँदा त्यो मिठो छ कि छैन, भगवान्का लागि योग्य छ कि छैन भनेर पहिला आफैँले चाख्नुपरेन त ? नचाखी त त्यसको स्वाद कसरी थाहा पाउनु र भगवान्लाई अर्पण गर्नु त ? पुजारी रामकृष्णको यस्तो आत्मविश्वासयुक्त जवाफ सुनेपछि समितिका पदाधिकारी निरुत्तर बने ।