काठमाडौंको वसन्तपुरमा धिमे बादन र नृत्यमा एक हजार कलाकारले संयुक्त प्रस्तुति दिएका छन्। विश्व पर्यटन दिवस, २०८१ को अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए।
मा धिमे (ठुलो धिमे) र धुन्याबाट सुरु भएको कार्यक्रममा चिगो (सानो धिमे), घौ, भुस्या, पोंगालगायत मौलिक बाजागाजाका बोलमा ६५० कलाकारले गद्दी बैठकअगाडि र शिवपार्वती डबलीमा नृत्य प्रस्तुत गरेका थिए। बादन र नृत्यको निर्देशन सुदनमान मुनिकारले गरेका थिए। मुनिकारका अनुसार यस प्रस्तुतिमा ६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका कलाकार सहभागी थिए। यसका लागि उपत्यकाबाहिर धरानदेखि पनि कलाकार आएका थिए।
यससँगै झोछेँ प्रवेश मार्गतर्फ १२५ कलाकारले फ्युजन अर्केस्ट्रा प्रस्तुत गरेका थिए। स्थानीय खलपुचःका बाद्यबादन समूह, नेपाल प्रहरी संगीत विद्यालयको प्रहरी ब्यान्ड, नेपाली सेनाको गुर्जु पल्टन, कुटुम्ब ब्यान्ड, भ्वाइलिन समूहसँगै पहिलोपटक दबदब समूहको अर्केस्ट्रामा बादन प्रस्तुत भएको थियो। बादनमा चर्या नृत्य, मयूर नृत्य, नेवारी नृत्य प्रस्तुत गरिएका थिए।
काठमाडौं महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघले कार्यक्रम आयोजना गरेको हो। विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम गर्न असोज ११ र १२ गते कार्यक्रमको तयारी थियो। अविरल वर्षाका कारण रोकिएको कार्यक्रम शनिबार सम्पन्न गरिएको हो।
सांस्कृतिक क्रियाकलापमार्फत पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा बादन, गायन र नृत्यसँगै हस्तकला तथा नेपाली उत्पादनका सामग्रीको प्रदर्शनी, मौलिक खानाका स्टलहरू राखिएका थिए। यस वेला वसन्तपुर घुम्न आउने पर्यटकलाई बग्गीमा राखेर घुमाइएको थियो। यस्तै, औपचारिक कार्यक्रम अवसरमा आइपुगेका पर्यटकलाई अतिथिका रूपमा आसनग्रहण गराएर नेपाली टोपीले स्वागत गरिएको थियो।