नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले ‘गण्डकी हिरोज्’का लागि खुला दर्खास्त आह्वान गरेको छ। गण्डकी प्रदेशबाट ट्यालेन्ट हन्टको रूपमा खुला गरिएको छनोटबाट पोखरा एभेन्जर्सले गण्डकी हिरोज् टिमका लागि खेलाडी छनोट गर्ने भएको हो।
स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि पोखरा एभेन्जर्सले गण्डकी हिरोजको अवधारणा अघि सारेको छ। पोखरा एभेन्जर्सअन्तर्गत रहने गण्डकी हिरोजले स्थानीयसँगै प्रदेशस्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरि नै प्रशिक्षण र प्रतिस्पर्धामा सहभागी हुनेछ। फ्रेन्चाइज क्रिकेटमार्फत घरेलु क्रिकेट विकासमा ठोस योगदान गर्ने उद्देश्यले गण्डकी हिरोजको अवधारणामा काम गरिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताए।
खुला छनोटबाट गण्डकी हिरोजमा उत्कृष्ट पाँच खेलाडी छानिनेछन्। छनोट भएका खेलाडीलाई पोखरा एभेन्जर्सले बन्द प्रशिक्षणमा समावेश गर्नेछ। छनोटबाट आएका उत्कृष्ट पाँचमध्ये एकजनाले आइकोनिक खेलाडीको रूपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरिरहेको पोखरा एभेन्जर्सबाट एनपिएल खेल्ने अवसर प्राप्त गर्नेछन्।
गण्डकी प्रदेशमा हुने ट्यालेन्ट हन्टबाट आउने एक आइकोनिक खेलाडीलाई क्लबले सम्झौतासहित एनपिएलको टिममा राख्ने एभेन्जर्सका प्रबन्ध–निर्देशक मनोबल श्रेष्ठले बताए। ‘छनोटबाट आएका अन्य खेलाडीले पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकअन्तर्गत रहेर प्रशिक्षण र सिक्ने अवसर प्राप्त गर्नेछन्। यसबाट स्थानीय खेलाडीको समेत स्तर वृद्धि हुनेछ,’ उनले भने।
पोखरा एभेन्जर्सले मार्की खेलाडीको रूपमा कुशल भुर्तेल र मुख्य प्रशिक्षकमा पूर्वभारतीय क्रिकेटर तथा प्रशिक्षक राजीव कुमारलाई अनुबन्ध गरिसकेको छ। पहिलो विदेशी खेलाडीको रूपमा युएसका विकेटकिपर ब्याट्सम्यान एन्ड्रिज गुसलाई एभेन्जर्सले भित्र्याइसकेको छ।