लमजुङको मर्स्याङ्दी गाउँपालिका– ८, भुस्मेका स्थानीयले अहिले घरैपिच्छे तरकारी लगाएका छन् । केही वर्षअघि बजारमा र छिमेकीसँग तरकारी किन्दै आएका पर्यटकीय गाउँ भुस्मेका स्थानीय केही वर्षअघि बाँझो रहेको जग्गा यतिवेला भने तरकारी खेतीले हरियाली भएको छ । भुस्मेको सिङ्गो गाउँ नै अहिले तरकारी खेतीमा लागेको छ ।
किसानले काउली, बन्दा, गोलभेँडालगायत मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । स्थानीय अगुवा होमराज तामाङले गाउँका ५५ घरपरिवार नै तरकारी खेतीमा लागेको बताए । ‘पहिले किनेर काम चलाउने गरेका थियौँ, अहिले आफैँले गर्नुपर्छ भन्ने बुझेपछि घर–घरमा टनेल बनाएका छौँ,’ उनले भने, ‘आफैँले तरकारी फलाउन थालेपछि आफूलाई पनि भयो । बिक्रीसमेत गरेका छौँ ।’ तामाङले गाउँ तरकारीमा आत्मनिर्भर भएको बताए ।
गाउँलेको दैनिकी तरकारी खेतीमै बित्ने गरेको छ । ०७१ सालदखि तरकारी खेती गर्दै आएकी नीलमााया तामाङले आठ रोपनी जग्गामा अहिले व्यावसायिक तरकारी खेती गरेकी छिन् । उनले ५–६ वटा टनेल निर्माण गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । उनले भनिन्, ‘पहिलेका दिनमा दुई–चार पैसा देख्न नि रहरै हुन्थ्यो, अहिले त महिनामा नै ५० हजार आम्दानी हुन्छ ।’
नीलमायाजस्तै तरकारी फलाउन हौसिएकी छिन्, गाउँकै सुनसरी तामाङ । तरकारी खेती सुरु गरेसँगै घरखर्च र छोराछोरी पढाउन तरकारी बिक्रीबाट आएको रकम चलाउने गरेको उनले बताइन् । ‘तरकारी राम्रो बिक्री हुन्छ, घरखर्च र छोराछोरीलाई उच्च शिक्षा पढाउन सहज भएको छ,’ उनले भनिन् ।
भुस्मे गाउँलाई तरकारी पकेट क्षेत्र नै घोषणा गरी सञ्चालन समिति गठनसमेत गरिएको छ । गाउँलेले एक सय ५० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीका लागी मर्स्याङ्दी गाउँपालिका र कृषि ज्ञानकेन्द्र लमजुङले समेत सहयोग गर्दै आइरहेको छ ।