प्रसूति गराएको शुल्क ६० हजार

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

सिराहाको गोलबजार नगरपालिका– २ गुरुधामस्थित माइतीघरमा बस्दै आएकी करिब ३१ वर्षीया सीता महतोले सामान्य प्रसूति गराउँदा उनको परिवारले धान बेचेर निजी अस्पताललाई ६० हजार रुपैयाँ शुल्क बुझाउन बाध्य हुनु परेको छ । कर्जन्हा नगरपालिका– २ बन्दीपुरका सुबोध महतोकी श्रीमती सीताले गत २५ असोजमा प्रसूति गराई डिस्चार्ज हुँदा परिवारले ६० हजार रुपैयाँ बुझाएको हो ।

उत्तिमलाल मेमोरियल हस्पिटलले नवजात शिशुलाई जन्डिस र सिजर भएकाले एनआइसियूमा राखेर उपचार गराएको र करिब ६० घण्टासम्म अक्सिजन लगाएको भन्दै ६० हजार रुपैयाँ शुल्क लिएको उनका आफन्त श्यामकुमार साहले बताए । ‘त्यत्रो बिल कसरी उठ्यो भनेर प्रश्न गर्दा हस्पिटलका कर्मचारीहरूले कुरै गर्न चाहेनन्,’ उनले भने, ‘७४ हजार तिर्न नसक्ने अवस्था भएकाले अन्तिममा ६० हजार रुपैयाँ लिन तयार भए ।’ घरमा भएको १७ क्विन्टल धान बेचेर ५० हजार बुझाएर बाँकी १० हजार रुपैयाँ केही दिनमा बुझाउने कबुल गरेपछि मात्र नवजात शिशु र सुत्केरी आमालाई डिस्चार्ज गरेको उनले बताए । 

हस्पिटलकी सञ्चालिका डा. सुशीला सिंहले २५ असोजमा लहानस्थित प्रादेशिक अस्पतालबाट रेफर गरिएकी सीताको बच्चा करिब तीन घण्टासम्म अड्किएकाले जोखिम मोलेर अस्पतालमा भर्ना गरिएको बताइन् । ‘धेरै प्रयासपछि प्रसूति सामान्य नै भयो, तर तीन घण्टासम्म अड्किएको नवजात शिशुको अवस्था जटिल भएकाले तत्काल एनआइसियूमा राखेर चार दिनसम्म उपचार गर्यौँ,’ उनले भनिन् ‘शिशुलाई चार दिनको अवधिमा पटक–पटक गरी ५९ घण्टा अक्सिजन दिएर राख्यौँ ।’

प्रसूति गराउन आएकी महिलालाई रक्तअल्पतासमेत भएकाले शल्यक्रिया नगरी धेरै प्रयास गरेर सामान्य प्रसूति गराइएको उनले बताइन् । ‘एनआइसियू, औषधि, बेड, चिकित्सकको राउन्ड चार्जसहित त्यति रकम भएको हो,’ उनले भनिन्, ‘जन्मिनेबित्तिकै शिशुलाई जन्डिस भएकाले त्यसको पनि उपचार गराउँदा शुल्क बढेजस्तो लागेको हो ।’

मातृशिशु सुरक्षा कार्यक्रम लागू भएको निजी वा सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउँदा सामान्य र शल्यक्रियामार्फत् हुने प्रसूतिको क्रमशः दुई हजार पाँच सय र १० हजार रुपैयाँ शुल्क लिने व्यवस्था रहेको गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले जानकारी दिए । हस्पिटलले उपचारको नाममा बढी शुल्क लिएको विषयमा सम्बन्धित परिवारले उजुरी गरे स्वास्थ्य शाखाले आवश्यक छानबिन गर्ने उनले बताए ।

मातृशिशु सुरक्षा कार्यक्रम लागू भएको स्वास्थ्य संस्थामा प्रसूति गराउँदा यातायात खर्चबापत एक हजार रुपैयाँ, प्रोटोकलअनुसार चारपटक गर्भ जाँच गराएको आठ सय रुपैयाँ र न्यानो कपडासहितको झोला दिने व्यवस्था रहेको उनले बताए । ‘सरकारी स्वास्थ्य संस्थाहरूमा भनेको वेलामा सेवा नपाउँदा बिरामीका आफन्तहरू निजीमा जान बाध्य छन्,’ उनले भने ।

See More On

सुझावित समाचार