सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वास्थ्य परीक्षण पछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
प्रतिनिधिसभाले गठन गरेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनका आधारमा गोर्खा मिडियासँग जोडिएका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरि सडक मार्गहुँदै रातारात पोखरा ल्याएको थियो।
कास्की प्रहरीले सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न भन्दै शुक्रबार कास्की जिल्ला अदालतसंग अनुमति माग गरेको थियो ।प्रहरीको पत्र पछि न्यायाधीश कृष्णजंग शाहको एकल ईजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
अदालतको अनुमतिपछि लामिछानेलाई पक्राउ गरि पठाईदिनु भन्दै कास्की प्रहरीले नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान शाखा काठमाडौंलाई पत्राचार गरेपछि पार्टीको केन्द्रीय कार्यालय वनस्थलीबाट शुक्रबार उनलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याईएको हो ।
पोखरा ल्याएसँगै लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गरि कास्की प्रहरीको हिरासतमा राखिएको छ । बिहान करिब ३ बजेतिर उनलाई जिल्ला प्रहरी कार्यालय कास्की ल्याईएको थियो ।
संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदनमा गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । सोही अनुसार लामिछानेलाई कारबाहीका लागि पक्राउ गर्न प्रहरीले अनुमति लिएको हो ।
समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयले ६ असोजमा प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरेको थियो । सोही निर्देशनपछि सोहीदिन पूर्वडिआइजी जोशीलाई प्रहरीले पक्राउ गरेको थियो । सूर्यदर्शनसहित पाँच सहकारीबाट ६५ करोड रुपैयाँ अवैध रुपमा गोर्खा मिडियामा आएको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले कारवाही सिफारिस गरेका चार मध्ये रम्तेल यसअघि नै पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् भने जिबी फरार छन् ।