दीपेन्द्रसिंह ऐरीको बलिङमा तीन विकेट तथा ब्याटिङमा २८ रन जोड्दा नेपालले पहिलो टी–२० आई खेलमा हरायो अमेरिकालाई १७ रनले
अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन मद्दतमा शुक्रबार बिहान नेपालले अमेरिकाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा १७ रनको जित निकालेको छ । अमेरिकाको डालासमा भएको खेलमा दीपेन्द्रले बलिङ र ब्याटिङमा एकनासको प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा १७ बलमा २८ रन तथा बलिङमा २७ रन खर्चेर अमेरिकाको महत्वपूर्ण तीन विकेट लिए । यसै अलराउन्ड प्रदर्शनकै कारण उनी खेलकै म्यान अफ दी म्याच भएका छन् ।
अमेरिका र नेपालबिच समग्रमा यो दोस्रो टी–२० आई खेल हो । जसमा नेपाल दुवै खेलमा विजयी भएको छ । सन् २०१५ मा आइसिसी टी–२० विश्वकपको छनोट खेलमा नेपाल र अमेरिका समूह ‘ए’मा परेका थिए । सो खेलमा नेपालले अमेरिकालाई एक सय २१ रनमा समेटेको थियो । नेपालले १९.४ ओभरमा चार विकेट गुमाएर जित निकालेको थियो । नौ वर्षपछि टोलीबिच एक–आपसमा प्रतिस्पर्धा गरेका हुन् । अहिले नेपाल र अमेरिकबिच तीन खेलको टी–२० आई सिरिज भइरहेको हो । नेपालले १–० को अग्रता लिएको छ ।
गत जुन–जुलाईमा भएको आइसिसी टी–२० विश्वकपमा अमेरिका सुपर ऐटमा पुगेको थियो । यसै कारण अमेरिकाले अर्को संस्करणको टी–२० विश्वकपमा स्थान बनाइसकेको छ । नेपालले विश्वकपमा सुपर ऐटमा पुगेको टोलीविरुद्ध नै प्रतिस्पर्धा गरेको हो ।
जमेको ओपनिङ
शीर्ष ६ ब्याट्सम्यान चलेपछि पहिलो ब्याटिङ गरेको नेपालले अमेरिकालाई चुनौतीपूर्ण योगफल खडा गर्न सफल भएको हो । अनिल शाह र आसिफ सेखले पहिलो विकेटका लागि ५.३ ओभरमा ४८ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । नेपालले पहिलो विकेटका रूपमा अनिललाई गुमाएको थियो । अलि खानले उनलाई एलबिडब्लूको आउट गरेका हुन् । अनिलले १८ बलमा दुई चौका र एक छक्का प्रहार गरी २७ रनको योगदान दिए ।
आसिफ र कुशल भुर्तेलले दोस्रो विकेट निमित्त २१ रनको साझेदारी गरे । प्रशिक्षक मोन्टे देसाईले भुर्तेललाई यसपटक दोस्रो डाउनमा पठाएका थिए । आसिफले ९.१ ओभरमा आफ्नो विकेट गुमाए । उनले २७ बलमा चार चौकाको मद्दतमा २७ रन जोडे । उनी हमित सिंहको ओभरमा बोल्ड भए । फर्ममा नरहेका भुर्तेलले १३ बल सामना गरी १० रन मात्र बनाए । पछिल्लो समयमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका अर्का अलराउन्डर गुल्सन झाले सात बलमा समान एक चौका र छक्का प्रहार गरी ११ रन जोडे ।
एक रनले अर्धशतक बनाउन चुके रोहित
क्यानडामा औसत ब्याटिङ प्रदर्शन गरेका कप्तान रोहितकुमार पौडेल अमेरिकाविरुद्ध एक रनले अर्धशतक बनाउन सकेनन् । उनले दीपेन्द्रसिंहसँग मिलेर पाँचौँ विकेटका लागि ६६ रनको साझेदारी गरी नेपाललाई १५९–५ को बलियो स्थितिमा राखे । रोहित इनिङ्सको १९.६ ओभरमा आउट भएका थिए । अर्धशतक बनाउन रन लिने क्रममा उनी विकेट किपर गोउसबाट आउट भए । रोहितले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरी आक्रामक रूपमा ४९ रन जोडे ।
रोहित आउट हुँदा नेपाल १६४–९ को स्थितिमा रह्यो । यसअघि रोहित र दीपेन्द्रले १२.३ देखि १८.५ ओभरसम्म आक्रामक रूपमा ब्याटिङ गरेका थिए । दीपेन्द्रले अमेरिकी बलरविरुद्ध आकर्षक स्ट्रोक लगाए । नेपालका करण केसी र आरिफ सेख समान एक बल सामना गरी डक आउट भए । नेपालले अमेरिकाबाट १० अतिरिक्त रन पाएको थियो । अमेरिकाका सुवर्ण नत्राभाल्करले ३५ रन खर्चेर दुई विकेट लिए ।
सयनको अर्धशतक
अमेरिकाले नेपाललाई हराउन प्रतिओभर ८.२५ रन बनाउनुपर्ने थियो । रिजन ढकाल र करण केसीले दुई बलको अन्तरमा अमेरिकाका ओपनरद्वय मोनाक पटेल र सैतेजा मुकमलालाई पेभेलियन पठाए । अमेरिकाले दुवै ओपनर गुमाउँदा स्कोर बोर्डमा २.१ ओभरभित्र ८ रन बनाएको थियो ।
छैटौँ क्रममा ब्याट्सम्यान सयन जहाँगिरले आक्रामक ब्याटिङ गरी अमेरिकालाई जितको आशा दिलाए । उनले ३४ बलमा ६ चौका र दुई छक्का प्रहार गरी नटआउट ६० रनको योगदान दिए । उनले जसदीप सिंहसँग छैटौं विकेटका लागि ४४ रन जोडेका थिए । जसदीपले १२ बलमा समान एक चौका र छक्का प्रहार गरी १६ रन बनाए ।