इलामको माई खोलामा आएको बाढीले चार ठुला टावरमा क्षति पुर्याउँदा अनियमित भएको विद्युत् आपूर्ति तिहारअघि नै नियमित बनाउने लक्ष्यसहित प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धन संयुक्त रूपमा खटिँदै
शुक्रबार दिउँसो प्रसारणलाइन पुनर्निर्माणस्थल पुगेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारअघि काम सक्न निर्देशन दिए । उनले समयमै काम सक्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
इलामको माई खोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण थालिएको छ ।
विद्युत् प्राधिकरण र करिडोरमा जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाहरूले संयुक्त रूपमा प्रसारणलाइन पुनर्निर्माणको काम सुरु गरेका हुन् । तिहारअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्राधिकरणले प्रसारणलाइन मर्मतका लागि आवश्यक पाटपुर्जा उपलब्ध गराउने र निजी क्षेत्रले श्रम लागतलगायतका खर्च व्यहोर्ने गरी काम अघि बढेको छ । गत १२ असोजमा माई खोलामा आएको बाढीले काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ धोद्रेबेँसीमा चारवटा टावरमा क्षति पुर्याएको थियो ।
ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका २० वटा जलविद्युत् आयोजनाहरूको करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुने प्रसारणलाइनमा क्षति पुगेपछि १२ असोजबाट ती आयोजनाहरूबाट विद्युत् उत्पादन बन्द छ ।
काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेँसीमा ५०, ५१, ५२ र ५३ नम्बरका टावरलाई माई खोलाको बाढीले क्षति पुर्याएको थियो । यसमध्ये पनि ५१ र ५२ नम्बर टावर पूर्ण रूपले क्षतिग्रस्त छन् । टावरको जग खन्ने र आवश्यक सम्पूर्ण पाटपुर्जाहरू निर्माणस्थलमा ढुवानी गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पुनर्निर्माणस्थलको अनुगमन गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘काबेली करिडोर प्रसारणलाइन बन्द हुँदा मुलुकको एकीकृत विद्युत् प्रणालीकै विश्वसनीयता प्रभावित भइरहेको छ, निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले दैनिक रूपमा ठुलो आम्दानी गुमाइरहेका छन्, उत्पादन बन्द हुँदा भारतर्फको विद्युत् निर्यात प्रभावित भइरहेको छ,’ घिसिङले भने ।