दसैँ र तिहारका लागि ल्याइएको फलफूल नेपाल–चीन सीमामा कुहिन थालेको छ । चिनियाँ भन्सार भएर उत्तरी सीमामा अड्किएका करिब २० कन्टेनर फलफूल एकतिहाइजति कुहिएको हो । फलफूल व्यापारी शारदाप्रसाद पराजुलीले अनार, स्याउ र आँप कुहिएको बताए ।
सडक डिभिजन कार्यालय चरिकोटका प्रतिनिधि आफैँ बसेर कोदारी पहिरो पन्छाउन सुरु गरिएको र केही दिनमै लिपिङ खोलामा पनि डाइभर्सन तयार गरेर सडक सञ्चालन गर्ने तयारी छ । ‘सडक सञ्चालन भएपछि फलफूलबाहेक सबै कन्टेनर राजधानी पठाइन्छ,’ तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले भने । कन्टेनरभित्र केही कार्टुन स्याउ कुहिएको पाइएको उनले जनाए ।
‘तुइनबाट तारेर भरियामार्फत भन्सारयार्डमा ल्याउने क्रम जारी रहे पनि धेरै कन्टेनर अझै पारिपट्टि रहेकाले फलफूल कुहिने जोखिम बढेको हो । अनार, आँप र स्याउ धेरै कुहिएको छ,’ व्यापारी पराजुलीले भने, ‘यसपटक हामीले घाटा व्यहोर्नु पर्नेछ ।’ यद्यपि, चीन स्वशासित तिब्बतको खासा र केरुङसम्म आएर भन्सार नभएका करिब दुई सय कन्टेनर फलफूल फर्काएर सिँगात्से र ल्हासास्थित ठुला कोल्डस्टोरमा राखिएको छ ।
एक कन्टेनरबराबर ६ हजार आरएमबी तिरेर तिब्बत सरकार आफैँले कोल्डस्टोरमा राखिदिएपछि नेपाली व्यापारीको लगानी डुब्ने खतरा टरेको छ । एक महिनाका लागि तिब्बत सरकारले कोल्डस्टोर भाडामा लिएको हो । करिब सय कन्टेनरमा कुलिङ सिस्टम भएकाले ती गाडीहरू खासा, न्यालम र केरुङमै छन् । तर, ती गाडीको डिस्टेन्सन चार्ज नेपाली व्यापारीले नै तिर्नुपर्छ ।
केही कन्टेनर लसुन भने दिङ्री र न्यालममा राखिएको छ। लसुन गन्हाउने भएकाले कोल्डस्टोरमा राखिएको छैन । त्यसैले केही बोरा लसुन कुहिसकेको व्यापारी बताउँछन्। तातोपानीपट्टि अब चार दिनमा एकतर्फी सडक सञ्चालनमा आउने काफ्लेले जानकारी दिए । यता केरुङपट्टि पनि एक सातामा सडक सञ्चालन हुने सम्भावना छ ।